रुपन्देही : रुपन्देहीको मणिग्राममा सिरिसा मार्वलका सञ्चालकलाई लक्षित गरी गोली प्रहार भएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलार्इ लक्षित गरी गोली प्रहार भएको थियो ।
भण्डारीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुई जनाले हेलमेट लगाएरै पसलमा पसेर २ राउण्ड गोली चलाएको बताइएको छ । दुई राउण्ड गोली प्रहार भएपनि उनी सुरक्षित छन् । प्रहरीको मस्ट वान्टेड सूचिमा रहेका मनोज पुनले घटना आफूले गराएको दाबी गरेका छन् ।
उनी बुटबल र आसपासका क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् । पुनले व्यापारी भण्डारीका छोरा दिपकलाई फोन गरेर आफ्नो समुहले गोली चलाएको बताएका हुन् । ३० लाख चन्दा मागेको तर नदिएका कारण गोली चलाएको फोनमा पुनले बताएको दिपकले जानकारी दिएका छन् ।
मलेसियामा रहेको बताउने उनले व्यवसायी भण्डारीसँग ४० लाख रुपैयाँ माग गरेको तर नदिएकाले आफूले गोली चलाउन लगाएको दाबी गरे । मनोज युवा संघका नेता दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार मानिएको छ र उनी फरार छन् ।
गोली प्रहार गर्ने को हुन् भन्ने केही खुलेको छैन । डीएसपी बेलबहादुर पाण्डेले भने ग्राहक बनेर गएको र भण्डारी नभेटेपछि गोली चलाएर भागेको सूचना रहेका बताएका छन् ।