सुत्केरी बिदा छ महिनासम्म पुर्याउने

काठमाडौँ : स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउन तीव्र पहल शुरु गरेको छ । जागिरे सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्यमा थप सुधारको आवश्यकता महसुस गरेर मन्त्रालयले सुत्केरी बिदा छ महिनासम्म पुर्याउने पहल गरेको हो ।

हाल निजामती ऐनमा महिलालाई सुत्केरी बिदा ६० दिन र पुरुषलाई सुत्केरी स्याहार बिदा १५ दिन रहेको छ । सार्कअन्तर्गत बंगलादेश र भारतले सुत्केरी बिदा छ महिनाको प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेको छ ।

नेपालमा वर्षेनी कति महिला सुत्केरी हुन्छन्, यसमा कति सरकारी तथा गैरसरकारी सेवामा कार्यरत छन् भन्ने आधिकारिक तथ्यांक कुनै निकायसित छैन । व्यवस्थापिका–संसद् सचिवालयमा स्वास्थ्य मन्त्रालयले तयार पारी प्रस्तुत गरेको प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयकको मस्यौदामा दुई सन्तानका लागि मात्र सो प्रावधान लागू हुने व्यवस्था गरिएको छ ।

प्रस्तावित विधेयकका प्रावधान तथा स्तनपानको महत्वका बारेमा स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाद्वारा व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजकल्याण समितिका सदस्यलाई जानकारी दिन शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइएको हो ।

अर्कोतर्फ, अन्तर्राष्ट्रिय श्रम संगठनमा सुत्केरी बिदा १०३, श्रम नियमावली २०५० ले ९० दिन पारिश्रमिकसहित बिदा पाउने प्रावधान रहेको छ । शिशु तथा बाल्यकालीन पोषण रणनीति, २०७३ को प्रावधानअनुसार मन्त्रालयले सो विधेयक मस्यौदा तयार गरी सो विधेयक प्रस्तुत गरेको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले सुत्केरी आमा तथा नवजात शिशुको समग्र स्वास्थ्य सुधार ल्याउन सुत्केरी बिदा छ महिनासम्म पु¥याउने विधेयकमा प्रस्ताव गरिएको कार्यक्रममा जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार दुई वर्षसम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन । यो प्रतिशत वर्षेनी घट्दो छ । हेलेन केलर इन्टरनेशनलका प्रमुख कार्यक्रम संयोजक डा. अतुल उपाध्याय स्तनपान महत्वबारेमा ग्रामीण क्षेत्रमा जनचेतना अभाव तथा शहरी क्षेत्रमा आमाको दूधको विकल्पमा अन्य वस्तुको प्रयोग गर्ने बढ्दो रहेको जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयक आफ्नो समितिमा आएपछि छलफल अगाडि बढाइने जानकारी दिइन् ।

सांसद धनीराम पौडेलले स्तनपान गराउनेको संख्या वर्षेनी घट्नु चिन्ताको विषय रहेको चर्चा गर्दै आमाको दूधको महत्वबारेमा घरपरिवारलाई चेतना जगाउन आवश्यक भएको बताए ।  सांसद रुकमिणी चौधरीले आफू सामाजिक परिचालक हुँदै सांसद बन्न सफल भएको उदाहरण प्रस्तुत गर्दै सुत्केरी बिदा छ महिना पु¥याउन आवश्यक भएको बताइन् ।

कार्यक्रममा सांसद शारदा पौडेल, रीता रावल, निशाकुमारी साह, सिन्धुजलेसी बुढाथोकी, जयन्ती राई, श्रीमाया थकाली, रामहरि सुवेदी र रत्ना गुरुङले स्तनपानका बारेमा सुत्केरी आमा, तिनका अभिभावकलाई जागरुक बनाउन आवश्यक भएको धारणा व्यक्त गरे ।

बालस्वास्थ्य महाशाखा, पोषण शाखाका प्रमुख राजकुमार पोखरेल तथा राष्ट्रसंघीय बालकोष (युनिसेफ)का पोषणविद् प्रद्युम्न दाहालले स्तनपान तथा पोषणका बारेमा चर्चा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार