राम योङहाङ
इलाम : जिल्ला प्रशासन कार्यालय इलाममा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको घुइँचो लागेको छ । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सुरु गरेपछि नागरिकता लिनेको घुइँचो लागेको हो ।
उमेर पुगेर पनि नागरिकता नलिएका व्यक्तिलाई मतदाता बन्न नागरिकता अनिवार्य चाहिने भएकाले मतदाता बन्नुअघि नागरिकता बनाउन प्रशासनमा घुइँचो लागेको हो । निर्वाचन आयोगले आगामी प्रादेशिक र संसदीय चुनाव प्रयोजनका लागि फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियान सञ्चालन गरेपछि नागरिकता लिनेको घुइँचो लाग्न थालेको छ ।
निर्वाचनमा भाग लिन मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि नागरिकता बनाउन गाउँगाउँबाट जिल्ला प्रशासन आउने गरेका छन् । जिल्लाको दुर्गम क्षेत्र चुलाचुली र साकफाराबाट दुई दिनको यात्रा गरेर समेत नागरिकता बनाउन आउने गरेको जिल्ला प्रशासन कार्यालयका कम्प्यूटर अपरेटर झमेश मुखियाले बताए ।
अहिले नागरिकता बनाउन आउनेको संख्यामा समेत तेब्बर वृद्धि भएको छ । ‘सामान्य समयमा दैनिक ३०/४० जनासम्मलाई नागरिकता वितरण गर्ने गरिएको थियो’ कम्प्यूटर अपरेटर मुखियाले भने, ‘अहिले दैनिक ७५ देखि डेढ सय जनालाई नागरिकता वितरण भइरहेको छ ।’
साउन १ देखि बिहीबारसम्म मात्र आठ सय ६० जनाले नागरिकता लिईसकेको प्रशासनले जनाएको छ । जसमध्ये छ सय ७९ जनाले वशंज र दुई जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । त्यस्तै एक सय ७९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । अघिल्लो वर्ष यही महिना तीन सय आठ जनाले मात्र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । त्यसरी हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा १९ दिनमा नै तेब्बरले नागरिकता लिईसकेका छन् ।
दुई सातादेखि नागरिकता बनाउनेको र मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढ्न थालेको मुखियाले बताए । स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम नभएकाहरू अहिले नागरिकता बनाउन तथा मतदाता नामावलीमा नाम दर्ता गराउन प्रशासन धाउन थालेका हुन् ।
चुनावमा सहभागी हुन मतदाता परिचयपत्र बनाउनका लागि नेपाली नागरिकता अनिवार्य रुपमा चाहिने भएकाले पछिल्लो समय नागरिकता लिनेको संख्यामा वृद्धि भएको हो । जिल्ला निर्वाचन कार्यालय इलाममा साउन १ गतेबाट बुधबारसम्म ४ हजार आठ सय ९२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेका छन् ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि साउन १ गतेबाट जिल्ला निर्वाचन कार्यालयमा र १६ देखि ३२ गतेसम्मका लागि प्रत्येक स्थानीय तहको कार्यालयमा टोलि खटाई फोटोसहितको मतदाता नामावली संकलन एवम् अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।