जटीबुटीको व्यावसायिक खेती

नयाँ बुलन्द

इलाम : जिल्लामा जडीबुटी विकास कार्यक्रम लागू भएपछि उत्तरी क्षेत्रका बासिन्दा जडीबुटी खेतीमा सक्रिय भएका छन् ।  वन मन्त्रालयअन्तर्गत जिल्ला वन कार्यालयको अनुदान सहयोगमा गत वर्ष नयाँबजार, प्याङ, सुलुबुङ, पुवामझुवा, माईपोखरी, जोगमाई, जमुना, माईमझुवा र मावुमा कार्यक्रम सञ्चालन भएको थियो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा जडीबुटीको माग बढेपछि जडीबुटीको व्यावसायिक खेतीका लागि गत वर्षदेखि सो कार्यक्रम लागू गरिएको थियो । सामुदायिक वन, स्थानीय निकाय र जिल्ला वन कार्यालयले ग्रामीण क्षेत्रका किसानको घरदैलोमा जनचेतना अभिवृद्धि गर्दै व्यावसायिक जडीबुटी खेती कार्यक्रम अघि बढाएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठ बताउँछन् ।

वन कार्यालयका प्राविधिक किसानकै घरदैलोमा पुगेर हावापानी र माटो सुहाउँदो जडीबुटी खेतीका लागि प्राविधिक सेवा दिँदै आएका छन् । उच्च पहाडी र लेकाली क्षेत्रमा सम्भाव्यता अध्ययन गरी जडीबुटी विकास कार्यक्रम लागू गरिएको हो । खाद्यान्न बाली नहुने वन क्षेत्र, सिँचाइ नपुुगेको जमिनको उपयोग गरी उत्पादकत्व अभिवृद्धि गर्दै स्थानीयस्तरमा आयआर्जनका अवसर सिर्जना गर्नु जडीबुटी विकास कार्यक्रमको उद्देश्य रहेको श्रेष्ठको भनाइ छ ।  जडीबुटी विकास कार्यक्रमतर्फ चिराइतो र लौठसल्ला खेती विस्तारका लागि ५० लाख, जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि १० लाख र अनुगमन कार्यक्रमअन्तर्गत ३ लाख ५० हजार बजेट उपलब्ध भएको छ ।

आर्थिक अवस्था कमजोर भएका किसान, सामुदायिक वन उपभोक्ता समिति, जडीबुटी प्रशोधन गर्ने उद्यमी र सहकारी संस्थालाई लक्ष्य गरी जडीबुटी विकास कार्यक्रम सञ्चालन गरिएको हो । नयाँबजार, प्याङ, सुलुबुङ, पुवामझुवा, माईपोखरीमा चिराइतो तथा जोगमाई, जमुना, माईमझुवा, मावु, माईपोखरीलाई लौठसल्लाका लागि छनोट गरिएको छ । वन कार्यालयको सहयोगबाट ८ किसानले १५÷१५ रोपनी क्षेत्रफलमा ३ लाख ३८ हजार ४ सय चिराइतोका विरुवा रोपेका छन् । लौठसल्ला पकेट क्षेत्रअन्तर्गत २४ किसानले ४ सय ४३ रोपनी क्षेत्रफलमा ३५ हजार १ सय ५४ लौठसल्लाका विरुवा रोपेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार