केरा खेतीमा प्राविधिक सहयोगको अभाव

इलामकाे माई नगरपालिका-१, का एक किसानले लगाएकाे केरा खेती । तस्विर : राम याेङहाङ

नयाँ बुलन्द

इलाम : इलामको दक्षिणी क्षेत्रमा व्यावसायिक केरा खेतीको सम्भावना भए पनि प्राविधिक सहयोगको अभावमा किसानले समस्या भोग्नुपरेको छ । दक्ष प्राविधिकको अभावमा किसानले भनेजस्तो आम्दानी लिन सकेका छैनन् । माईनगरपालिका, चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिकाको तल्लो क्षेत्रमा बढी केरा खेती हुँदै आएको छ । तर, प्राविधिक सहयोग नपाउँदा यसलाई व्यावसायिक रूप दिन नसकिएको त्यहाँका किसानको गुनासो छ । त्यस क्षेत्रमा हजार बढी किसानले केरा खेती गर्ने गरेका छन् । त्यहाँ उत्पादित केरा दिनहुँ झापाको बिर्तामोड, दमक हुँदै काठमाडाैंसम्म पुग्ने गरेका छन् । माईनगरपालिका–५ कालीखोलाको केरा राजधानीमा पनि लोकप्रिय बनेको छ ।

केरा खेती गर्दा आम्दानीका साथसाथै अन्य बोट विरुवाको संरक्षणसमेत हुने भएकाले किसान केरा खेतीमा आर्कषण हुँदै गएका छन् ।  तर, मलजल र प्राविधिक सेवा नपाउँदा भनेजस्तो आम्दानी लिन नसकेको किसान विशाल आचार्य बताउँछन् । स्थानीय किसानले चिनीचम्पा, मालभोग, धुस्रे, झप्री, जहाजी जातका केरा मिश्रित रूपमा खेती गर्ने गरेका छन् । तर, सरकारीस्तरबाट प्राविधिक सहयोग नपाउँदा केराको बोट नै सुक्ने गरेको र मिहिनेत अनुसारको आम्दानी लिन समस्या भएको किसानको गुनासो छ । जिल्ला कृषि विकास कार्यालयले २ वर्षअघि मोरङको कानेपोखरीबाट २ हजार उन्नत जातको रोबेस्ट्रा जातको केराका विरुवा ल्याएर किसानलाई वितरण गरे पनि त्यसपछि मलजल र केरा खेती प्रवद्र्धनको कार्यक्रम नल्याएकाले समस्या उत्पन्न भएको कृषि सेवा केन्द्र दानाबारीका प्रमुख अनिलकुमार तिम्सिनाले बताए ।

‘किसानलाई विरुवा त वितरण गरियो तर, मलजल र केरा खेती प्रवद्र्धनको कार्यक्रम ल्याउन सकिएन’ तिम्सिनाले भने, ‘केरामा लाग्ने विभिन्न रोगका कारण किसानले भनेजस्तो आम्दानी गर्न सकेनन् ।’ पानी पर्याप्त नभएका झोडा क्षेत्रमा जंगलसरह केराका बगान भेटिन्छन् । केराखेतीलाई पानीसमेत त्यति आवश्यक नपर्ने भएकाले उपयोगमा आउन नसकेको जमिनमा खेती गरेर किसानले आम्दानी लिने गरेका छन् ।  यहाँको केराले तराईका सहरमा पनि बजार पाउने गरेका छन् । पछिल्लो समयमा झापाको खुदुनाबारीबाट दानाबारी सम्मको सडक ग्राभेल भएपछि नियमित सवारीसाधन चल्न थालेकाले उत्पादन राजधानी र तराईका बजारमा पु¥याउन सहज भएको छ ।

स्थानीय निजी बगानमा रहेका केरा झापाका व्यापारीले बगानमा घरीको ५० देखि २ सय रुपैयाँ सम्ममा खरिद गरी बजारमा लगेर ५ सय रुपैयाँभन्दा बढीमा बिक्री गर्ने गरेका छन् ।  राम्रो मूल्य नपाउने किसानले साइकल वा ट्रयाक्टरमा राखेर सोझै संकलन केन्द्रमा पु¥याउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकमा माईनगरपालिकाको २५ हेक्टर बढी क्षेत्रफलमा गरिएको केरा खेतीबाट २ सय ६० मेट्रिक टन उत्पादन भई गत वर्ष करोड मूल्य बराबरको कारोबार भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार