पहिरोले ताप्लेजुङमा तीन घर भत्कायो

ताप्लेजुङ : लगातारको वर्षाका कारण ताप्लेजुङमा पहिरोले क्षति पुर्‍याउन थालेको छ । पहिरोका कारण पछिल्ला दुई दिनमा तीन घरमा क्षति पुगेको छ भने चार घर उच्च जोखिममा परेका छन् ।

बुधबार विहान र गएरातिको वर्षापछि पहिरो झर्दा फुङ्लिङ नगरपालिका-१० र ४ मा दुई घरमा भत्किएको छ भने आठराई त्रिवेणी गाउँपालीका-१ निगुरादिनमा एक घर भत्किएको प्रहरीले बताएको छ ।

गएरातिको वर्षापछि झरेको पहिरोले फुङ्लिङ नगरपालीका-४ की छत्रमाया लिम्बुको घर भत्काएको छ भने आठराई त्रिवेणी गाउँपालिका-१ का भीमवहादुर विकको घर पनि पहिरोले भत्काएको स्थानीयवासी नगेन्द्र सिटौलाले जानकारी दिए ।

पहिरो जानसाथ घरमा भएका विक र लिम्बुका परिवार भागेकाले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कर्यालय ताप्लेजुङले जनाएको छ । विकको अर्को घर पहिरोको जोखिममा छ ।

उता फुङ्लिङ नगरपालिका-१० भालुगौडेमा भने बुधबार विहान पहिरो झर्दा कृष्णबहादुर भट्टराईको घर भत्किएको थियो । बुधबार विहान र राति गएको पहिरोका कारण विस्थापित तीन परिवार अहिले आफन्तको सरणमा बसेका छन् । भट्टराईका छिमेकी नरबहादुर भट्टराई, टेकमान भट्टराई र भक्ति हाङ फुरुम्बु लिम्बुको घर पनि पहिरोको जोखिममा रहेका छन् ।

तीनै स्थानमा पहिरोका कारण १० लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ताप्लेजुङमा पछिल्लो दिन वर्षा हुने क्रम बढेकाले पहिरोको जोखिम पनि बढेको पुर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । विगत २४ घण्टामा ताप्लेजुङमा ५० मिलिमिटर वर्षा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार