काठमाडौं : नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवा एक वर्षको अवधिमा ७ हजार ८४ जनाले उपभोग गरिरहेका छन् ।
कम्पनीले गत वर्षको असार ३१ देखि सहुलियत दरमा यो सेवा उपलब्ध गराएको थियो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि सहुलियत दरमा भिडियो कल तथा एसएमएस सेवा सुरु गरेको थियो । टेलिकमको मोबाइल नम्बर (सिम) मा टेलिकमको नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइएको यो सेवाको महसुल प्रतिमिनेट ५० पैसा तोकिएको थियो ।
साथै बोल्न र सुन्न नसक्ने व्यक्तिका लागि २०७० माघ देखि एसएमएसको शुल्क प्रति एसएमएस २० पैसाका दरले तोकिएको थियो । यो सेवा लिनका लागि शारीरिक अपांगता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषद्बाट जारी भएको परिचय पत्रसहित एकप्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ । यी सबै सेवाका लागि आफूलाई पायक पर्ने नेपाल टेलिकमको काउन्टरमा सम्पर्क राख्न सकिन्छ ।