भरतपुरमा २० गते पुनः मतदान

चितवन : भरतपुर महानगरपालिका–१९ मा २० साउन शुक्रबार पुनः मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले मंगलबार बोलाएको सर्वदलीय बैठकबाट पुनः मतदानको मिति तोकिएको हो ।  २० साउनमा हुने मतदानको लागि मौन अवधी मंगलबारदेखि लागू भएको छ । मौन अवधिमा सभा, सम्मेलन र प्रचारप्रसार गर्न तथा झन्डा प्रदर्शन गर्न पाइँदैन । कांग्रेस चितवन सभापति जितनारायण श्रेष्ठले सर्वदलीय बैठकको निर्णयबारे जानकारी दिएका हुन् । मुख्य निर्वाचन अधिकृतले भने यसबारे केही बताएका छैनन् । उनले सूचना टाँस गरेपछि नै सबै कुरा थाहा हुने बताए ।

यसैबीच, भरतपुर–१९ को च्यातिएका मतपत्रहरू मंगलबार दलका प्रतिनिधिहरूको रोहवरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जलाएको छ । मतगणना भइरहेका बेला १४ जेठमा राती मतपत्र च्यातिएपछि यहाँको मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरे पनि सर्वोच्चमा मुद्दा परेपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

यसै साता सर्वोच्चले निर्वाचन आयोगकै निर्णय कानुनसम्मत रहेको भन्दै सदर गरेपछि शुक्रबार २० साउनमा भरतपुर–१९ मा मतदानको मिति तोकिएको हो । मतपत्र जलाउँदा पत्रकारलाई प्रवेश निषेध गरिएको थियो । यसअघि ३१ वैशाखको निर्वाचनमा यस वडामा २ हजार ८ सय ९७ मत खसेको थियो । भरतपुर–१९ नम्बर वडामा कुल ३ हजार ७ सय ९७ जना मतदाता रहेका छन् । झन्डै ४ हजार मतदाता रहेको भरतपुर–१९ मा अब यसअघिको भन्दा बढी मत खस्ने अपेक्षा गरिएको छ । सबै दलले यही वडामा बढी ध्यान लगाएका कारणसमेत पहिलो चरणको निर्वाचनमा भन्दा यसपटक बढी मतदान हुनसक्ने दलहरूको आँकलन गरेको छन् ।

मतदाताहरूलाई फकाउन कुनै हर्कत बाँकी नराख्ने देखिन्छ । यस वडामा पहिलो चरणमा खसेको मत मध्य कुल १ हजार ८ सय ९ मत गणना भइसकेको थियो । लगत्तै १४ जेठको मध्यरातमा माओवादीका प्रतिनिधिहरूले मतपत्र च्यातेको थियो । त्यसपछि विवाद सर्वोच्चसम्म पुगेको थियो । आइतबार मात्रै सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै भरतपुर–१९ मा पुनः मतदान गर्न आदेश दिएको थियो ।

भरतपुर–२० को भने मत गणना गर्न बाँकी नै छ । २९ वटा वडा रहेको महानगरका वडा नम्बर १९ र २० बाहेकका बाँकी २७ वटा वडाको मतपरिणाम आइसकेको छ । वडा नम्बर २१ को गणना हुनेबेलासम्म महानगरको मेयरमा एमालेका तर्फबाट उम्मेदवार बनेको देवी ज्ञवाली अगाडि रहेका छन् ।

महानगरपालिकको २७ वटा वडाको मतगणना सकिँदा एमालेका तर्फबाट भरतपुरको प्रमुख पदका उम्मेदवार रहेका देवी ज्ञवालीले ४० हजार ९ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसको समर्थनमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालको ४० हजार १ सय ९६ मत रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरका उम्मेदवार बनेका बद्रिप्रसाद तिमिल्सिनाले भने ६ हजार ६ सय २२ मत मात्रै प्राप्त गरेका थिए ।

त्यसैगरी, महानगरको उपप्रमुखमा माओवादी केन्द्रको समर्थन रहेर कांग्रेसबाट उम्मेदवार बनेकी पार्वती शाह अगाडि रहेकी छिन् । शाहले ४४ हजार ७९ मत प्राप्त गर्दा एमालेकी उपमेयरकी उम्मेदवार दिव्या शर्मा आचार्यको ३७ हजार ६ सय ८० मत मात्रै रहेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट भरतपुरको उपमेयरको उम्मेदवार बनेकी रिना गुरुङले ६ हजार ९ सय ८० मत प्राप्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार