नेपाल सरकारको वरियताक्रममा इलामका मेयर कहाँ, सिडियो कहाँ !

नयाँ बुलन्द

इलाम : इलाम जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु र सरकारी कार्यालयहरुमा रहेका सरकारी उच्च पदाधिकारीहरुको बरियताको हामीले खोजी गरेका छौ । यस समाचारमा हामीले तिनै कुरालाई प्रकाश पार्ने जमर्को गरेका छौं ।

बरियताक्रमका हिसाबले पूर्व प्रधानमन्त्री झलनाथ खनाल सातौं रोलक्रममा छन् । सातौं बरियतामा नै पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ रहेका छन् । आठौं रोलक्रममा व्यवस्थापिका संसदका विभिन्न समितिका सभापति मध्येका कुलबहादुर गुरुङ रहेका छन् । सातौं रोलक्रम बहालवाला मन्त्री सोसरहको हो भने आठौं रोलक्रम बहालवाला राज्य मन्त्री सो सरहको हो ।

१२ औं बरियतामा व्यवस्थापिका संसदका सदस्यहरु छन् । जसमा नेपाली काङ्गेसकी सुजता परियार र केशव थापा, एमालेका केदारप्रसाद सञ्जेल, माओवादी केन्द्रका सुर्यप्रकाश बाला राई, राप्रपाकी लिलादेवी श्रेष्ठ र मनोनित नगेन्द्र कुमाल गरि इलामका ६ जना व्यवस्थापिका संसदमा सदस्यहरु छन् । एमालेका केदारप्रसाद सञ्जेलका विषयमा एमाले इलामका कार्यालय सचिव नवराज शङ्करले हामीसँग भने, ‘केदारप्रसाद सञ्जेल इलाम जिल्ला कमिटीले सिफारिस गरेर समानुपातिकका सदस्य बनेका होइनन् ।’ व्यवस्थापिका संसदको वेवसाईटमा भने सञ्जेलको नाम इलाम जिल्ला भनेर उल्लेख छ ।

१५ औं वरियतामा उच्च अदालत विराटनगर इलाम इजलासका न्यायधिश रहेका छन् । १८ औ. वरियतामा जिल्ला विकास समितिका निर्वाचित सभापति छन् तर हाल जिल्ला समन्वय समिति बनिसकेको अवस्थामा भने वरियता कुन हुने भन्ने नेपाल सरकारको गृह मन्त्रालयको वेवसाईटमा उल्लेख छैन ।

१९ औं वरियतामा नेपाल सरकारका सह सचिवहरु पर्छन् । इलाम जिल्लामा नेपाल सरकारका सह सचिवहरु तीन वटा कार्यालयमा हुने व्यवस्था छ । उच्च अदालत विराटनगर इलाम इजलासका रजिष्टार, जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी र उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवत्ता सहसचिव हुन् । यसैगरि जिल्ला न्यायधिश पनि १९ औं वरियतामा पर्छन् । राजपत्रांकित प्रथम श्रेणीका शिक्षकहरु र क्याम्पसका लेक्चररहरु पनि यहि बरियतामा पर्छन् ।

इलामका ४ वटै नगरपालिकाका प्रमुखहरुपनि यहि श्रेणीमा पर्छन् । नेपाल सरकारका उपसचिवहरु सरकारी रोलक्रमको २३ औं वरियतामा पर्छन् । राजपत्रांकित द्वितिय श्रेणीका कर्मचारीहरु, शिक्षकहरु र विकास समितिका निर्देशकहरु पनि यहि वरियतामा पर्छन् । २४ औं बरियतामा नेपाली सेनाका कर्नेल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक पर्छन् ।

२५ औं बरियताक्रममा नेपाली सेनाका इलाममा भएका ६ जना मेजरहरु, नेपाल प्रहरीका एक जना प्रहरी नायब उपरिक्षक, सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक, राष्ट्रिय अनुसन्धान प्रमुख अनुसन्धान अधिकृत पर्छन् । गृह मन्त्रालयका अनुसार यहि रोलक्रममा गाविसका निर्वाचित अध्यक्षहरु पनि पर्छन् तर गाउँपालिकाको हकमा हकमा भने के हुने भन्ने गृह मन्त्रालयले खुलाएको छैन । नेपाल सरकारका शाखा अधिकृतहरु भने २६ औं वरियतामा पर्छन् । नेपाली सेनाका क्याप्टेनहरु र राजपत्रांकित तृतिय श्रेणीका कर्मचारीहरु यस वरियतामा पर्छन् । २७ औं बरियतामा प्रहरीहरुका निरिक्षकहरु र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत पर्छन् । २८ औं वरियतामा नेपाली सेनाका लेफ्टिनेण्टहरु पर्छन् ।

उल्लेखित पदाधिकारीहरुको पति वा पत्नीलाई आमन्त्रित गरिएको औपचारिक समारोहमा निजहरुको मर्यदाक्रम सम्बन्धित पदाधिकारीहरुको मर्यदाक्रम बमोजिम नै हुने व्यवस्था गृह मन्त्रालयले गरेको छ । मर्यदाक्रममा उल्लेख नभएकाहरुलाई कुनै समारोहमा सम्मिलित गराउदा मर्यदाक्रमका विषयमा द्विविधा उत्पन्न भएमा गृह मन्त्रालयमा सम्पर्क राखी निजलाई कुन क्रममा राख्ने हो सो को जानकारी गृह, परराष्ट्र र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था नेपाल सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार