नयाँ बुलन्द
इलाम : श्यामकृष्ण उपाध्यय स्मृति पुरस्कार यो वर्ष इलामका पत्रकार धर्म गौतमलाई प्रदान गरिने भएको छ ।
श्री श्यामकृष्ण उपाध्यय स्मृति पुरस्कार गुठीद्वारा प्रदान गरिदै आएको पुरस्कार आउदो साउन ३० गते इलाम सदरमुकाममा प्रदान गरिने निर्णय भएको संचालक समितिका अध्यक्ष तोयानाथ भट्टराईले जानकारी दिए । पुरस्कार समितिको सिफारिशसा संचालक समितिले ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार उनलाई दिने निर्णय गरेको हो । गौतम तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सकृय छन् ।
यस अघि यो पुरस्कार झापाका पत्रकार गोविन्द क्षेत्री र मदन ढकाल, सुनसरीका गिरीराज आचार्य, सप्तरीका शिवहरी भट्टराई सहित १३ जनालाई प्रदान गरिसकिएको छ । पत्रकार उपाध्ययको निधनपछि छोरी आभाकुमारी उपाध्ययले पुरस्कार गुठीको स्थापना गरेकी हुन् । वि.सं.१९८६ मा जन्मिएका उपाध्यायले आलोक र केटो साप्ताहिक लगायत विभिन्न पत्रिकाको सम्पादक तथा विभिन्न तहमा रहेर काम गरेका थिए । वि.सं.२०४६ चैत १७ मा उनको निधन भएको हो ।