वीरगन्ज : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीआबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर तुहिएपछि नयाँ शक्तिका जिल्ला नेता पार्टी छोडेर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्न सुरु गरेका छन् ।
नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य मुकेशकुमार द्विवेदी , पर्सा जिल्ला सदस्य तथा क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव शंकर साह कानु र जिल्ला सदस्य अजयकुमार साह आइतबार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हुन्।
‘ मधेस एजेण्डामा पार्टी अगाडि आउने आशामा हामीले पार्टीमा लागेका थियौं , आपेक्षा अनुरुप हुन सकेन् ,’ वीरगन्जस्थित ठाकुराम बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापतिसमेत रहेका द्विवेदीले भने , ‘ देशको सत्ता र स्रोतसाधनलाई पेवा ठान्ने ठूला भनिएका पार्टीको हैकम भत्काउन एकजुट हुन जरुरी छ।’
फोरम नेपालका केन्द्रीय सदस्य प्रदुम्न चौहन , तराई मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगीलगायतले टीका लगाएर उनीहरुलाई पार्टीमा प्रवेश गराए। दुई साताअघि नयाँ शक्ति पार्टीका पर्साका दर्जन बढी नेताहरु फोरममा प्रवेश गर्ने तय भए पनि एकीकरणको वातावरण बन्न लागेकोले स्थगित गरिएको कार्यक्रम आइतबार गरिएको फोरमका जिल्ला उपाध्यक्ष सुन्दरप्रसाद कुर्मीले बताए।