सुजता सुनुवार
इलाम : इलाममा निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेर काम सुरु गरेसँगै विभिन्न कार्यालयका कर्मचारी स्थानीय तहमा जान थालेका छन् । इलाममा पहिलो र दोस्रो चरण गरी १० वटै स्थानीय तहमा ४२ जना कर्मचारी खटाई सकिएको जिल्ला कर्मचारी व्यवस्थापन समितिले जनाएको छ ।
जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय, सामाजिक परिचालन कार्यक्रम लगायतका कार्यालयका कर्मचारीलाई नगरपालिका र गाउँपालिकामा खटाइएको जिल्ला कर्मचारी व्यवस्थापन समितिका सदस्य सचिव एवं स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।
नगरपालिकामा ११ जना, गाउँपालिकामा ९ जना तथा हरेक वडामा कम्तिमा ३ जना कर्मचारी खटाउने निर्णय भएअनुसार कर्मचारीको रोजाई, घरपायक, कार्यक्षेत्र, उमेर लगायतलाई आधार मानेर खटाइएको खड्काले जनाए । सामान्य प्रशासन, जनस्वास्थ्य, कृषि, पशुसेवा तर्फका कर्मचारीलाई यसै सातासम्ममा खटाईसक्ने स्थानीय विकास अधिकारी खड्काले बताए ।
स्थानीय तहमा खटिएका कर्मचारी हाजिर हुन आउँदै गरेको र उनीहरुलाई कार्यदक्षता तथा क्षमता हेरेर जिम्मेवारी दिने तयारी भैरहेको सुर्योदय नगरपालिका कार्यलयले जानकारी दिएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा रहेका सम्पूर्ण वडामा भने नवनिर्वाचित जनप्रतिनिधिले नै कर्मचारी खटाउने समितिले जनाएको छ ।