एमाले आजदेखि प्रदेश नं. २ मा केन्द्रित

काठमाडौं : तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत प्रदेश नं. २ को निर्वाचनका लागि एमालेका नेताहरू शनिबारदेखि खटिने छन् ।
पार्टी केन्द्रीय सचिवालय वैठकले निर्णय गरेअनुसार उनीहरू शनिबारदेखि निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि पार्टीका केन्द्रीय पदाधिकारी खट्न थालेका हो ।

एमालेले प्रदेश नं. २ का ८ जिल्लाका १ सय २७ स्थानीय तहका लागि नेताहरूलाई खटाउन थालेको हो । पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बनेको एमाले तेस्रो चरणको निर्वाचनमा पनि पहिलो शक्ति बन्नका लागि केन्द्रीय पदाधिकारीलाई खटाउन थालेको हो ।

यसपटकको निर्वाचनमा एमालेले केन्द्रीय पदाधिकारीलाई खटाउन थालेको हो । महासचिव ईश्वर पोखरेलको नेतृत्वमा ती नेताहरु प्रदेश नं. २ का जिल्लामा जाने भएका छन् । पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले तेस्रो चरणको निर्वाचनमा पनि पार्टीलाई पहिलो शक्तिको रूपमा उभ्याउनका लागि केन्द्रीय पदाधिकारीलाई खटाउन थालेको जानकारी दिए ।

उनका अनुसार महासचिव पोखरेल पर्सा, उपमहासचिवद्वय घनश्याम भुसाल र विष्णु पौडेल क्रमशः रौतहट र बारा, सचिवद्वय गोकर्ण बिष्ट सर्लाही, योगेश भट्टराई धनुषामा, भीम आचार्य सप्तरीमा, पृथ्वीसुब्बा गुरुङ महोत्तरीमा र प्रदीप ज्ञवाली सिरहामा खटिने छन् ।
२ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरीले पार्टीको प्रदेश कार्यालयबाट निर्वाचनको संयोजन र समन्वय गर्ने बताइएको छ । प्रदेश नं. २ को निर्वाचनका लागि वीरगञ्ज, जनकपुर र लहानमा केन्द्रीय सचिवालय खोल्ने एमालेले जनाएको छ । जिम्मेवारी पाएका नेताहरू केही दिनभित्रै जिल्ला पुग्ने बताइएको छ ।

निर्वाचनका बेला एमालेले आफू नेतृत्वको सरकारले तराई–मधेसका लागि गरेका कल्याणकारी र विकासका कामबारे पनि सर्वसाधारण जनतालाई जानकारी गराउनेछ । यस्तै, संविधानबारे पैmलाइएका भ्रम पनि निवारण गर्ने एमालेको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार