फ्याक्ट्री निर्माण हुने भएपछि स्थानीय हर्षित

इलामको फाकफोकथुम गाउँपालिकाका-१ मा निर्माणाधीन ‘सिद्धदेवी टि स्टेट कम्पनी प्राइभेट लिमिटेड’ को फ्याक्ट्री ।

युद्धबहादुर बोहोरा

इलाम : इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिकाका–१ मा ‘सिद्धदेवी टि स्टेट कम्पनी प्राइभेट लिमिटेड’ ले फ्याक्ट्री निर्माण सुरु गरेको छ ।

उन्नती समावेशी कार्यक्रमको सहयोगमा ६ करोड रुपैयाँको लागतमा भवन निर्माण सुरु गरिएको हो । मेची लोकमार्गको राँके–भेडेटार सडक खण्डमा राँके देखि ६ किलोमिटर दुरीमा मझौला किसिमको फ्याक्ट्री निर्माण थालिएको हो । तीन तले पक्की भवन निर्माण सम्पन्न हुनेछ । साथै एउटा स्टाफ क्वाटरका लागि अर्को एक भवन निर्माण हुनेछ । आगामी असोजदेखि उत्पादन सुरु गर्ने लक्ष्यका साथ धामाधम फ्याक्ट्री निर्माणको काम भइरहेको छ ।

सो फ्याक्ट्रीबाट दैनिक ५०० केजी शुद्ध अर्गानिक चिया उत्पादन हुने अपेक्षा गरिएको छ । कम्पनीमा स्टाफ सहित एक सय जना कामदार रहने बताइएको छ । फ्याक्ट्री निर्माणले बगानमा उत्पादन भएको चिया नजिकै बिक्री हुने भन्दै स्थानीय कृषकमा खुशी छाएको छ । फ्याक्ट्री निर्माण सम्पन्न भएपछि आसपासका कृषकहरुलाई समेत फाइदा पग्नेछ ।

वि.स. २०४८ देखि सो क्षेत्रमा विविन्न स्थानबाट विरुवा संकलन गरी चिया खेती सुरुवात गरिएको थियो । हाल धेरैजसो आफ्नै बगानको बेर्ना उत्पादन हुने र अपुग विरुवा इलाम पानीटार बगानबाट ल्याउने गरिएको कम्पनीका म्यानेजर लोचन खत्री बताए ।

समुन्द्री सतहबाट १ हजार ७ सय मिटर उचाई रहेको यस बगानमा तक्दा, बेनेकबोन, गुम्ती, चाइनिज प्रकारका चियाहरु लगाइएको छ । आवश्यकता अनुसार कामदार र प्राविधिकहरुलाई चिया सम्बन्धि विभिन्न तालिम दिने गरिएको छ । तालिम र फ्याक्ट्री निर्माणमा उन्नती समावेशी कार्यक्रम इलामले सहयोग गरेको छ ।

यसअघि सो बगानले कन्चनजंघा टि स्टेट प्रालि फिदिमलाई हरियो पत्ति दिदै आएको थियो । टाढा ढुवानी गर्नुपर्ने भएपछि बढी खर्चिलो भई नोक्सान व्यहोर्नु परेकाले फ्याक्ट्री निर्माण सुरु गरिएको म्यानेजर खत्रीले बताए ।

आगामी दिनमा यस बगानबाट उत्पादि चियालाई राष्ट्रिय चिया तथा कफि विकास बोर्डसँग समन्वय गरी अर्गानिक परिक्षणपछि विकसित मुलुकमा बिक्रीको लागि पहल गरिने उनले बताए ।

एक हजार दुई सय रोपनी क्षेत्रफलमा चिया बगान रहेको त्यस क्षेत्रको केही ओसिलो ठाँउमा अलैंची समेत लगाइएको छ । सडक वरिपरि सल्लो जातको विरुवा लगाइएको छ । बगानको छेउ भागमा अर्गेली (लोक्ता) लगाइएको छ ।

पाँचथर फाल्गुनन्द–४, का कृषक चन्द्रकुमार नेम्वाङ्गले नीजि लगानीमा ४५ रोपनी क्षेत्रफलमा चिया, लोक्ता र चिराइतो खेती लगाएका छ्न । १७ वर्षदेखि उनले ‘नेम्वाङ्ग चिया बगान’ थालनी गरेका थिए । राम्रो बजार सुविधा नभएपनि आफू हतोत्साहित नभएको उनको भनाइ छ ।

यहाँबाट अर्गानिक चिया उत्पादन गर्दै उनले अमेरीका रहेका बाबुआमा, दाजुभाई र ब्रुनाइ रहेका साथीभाइलाई समेत पठाउन गरेका छन् । नेम्बाङ बगान सिद्धदेवी टि स्टेट नजिकै पर्दछ । फ्याक्ट्री निर्माण सम्पन्न भएपछि आफूहरुलाई सहज हुने उनी बताउँछन् । फ्याक्ट्री निर्माण भएपछि त्यहाँका दर्जनौ कृषकहरुलाई सहज हुनका साथै स्थानीयले रोजगारी समेत पाउने स्थानीय बासिन्दा यज्ञबहादुर बोहोरा बताउँछन् ।

नेपालमा सबैभन्दा पहिले वि.स. १९२० मा इलाममा चिया भित्रिएको थियो । ग्रीन टि उच्च रक्तचापलाई नियन्त्रण गर्ने (मुटु मैत्री), स्मरणशक्ति बढाउने, कब्जियत हटाउने, क्यान्सर रोग लाग्नबाट बचाउने, मोटोपन घटाउने, मधुमेह, मुख, गिँजा, दाँत र श्वास गन्हाउने  आदि समस्याको औषधिको रूपमा समेत प्रमाणित भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार