झापा : जिल्लामा आर्थिक वर्ष ०७३÷७४ मा १ करोड ४८ लाख ६२ हजार किलो तयारी चिया उत्पादन भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार यहाँ कूल ११ हजार ४ सय ४३ हेक्टर क्षेत्रफलमा व्यावसायिक चियाखेती हुँदै आएको छ । उनका अनुसार कूल ३ हजार ६ सय ९५ हेक्टर क्षेत्रफलमा २ हजार ९ सय २७ साना चिया किसानले चियाखेती गरिरहेका छन् ।
आव ०७०÷७१ मा २ करोड १० लाख ७६ हजार ३ सय ६६ किलो तयारी चिया उत्पादन भएको विकास बोर्डको तथ्यांकमा उल्लेख छ । त्यस्तै, आव ०७१÷७२ मा २ करोड ३१ लख ८६ हजार ७ सय २६ किलो तयारी चिया उत्पादन भएको थियो ।
झापामा चियाखेतीतर्फ किसान आकर्षित भएसँगै उत्पादनमा पनि वृद्धि भएको हो । बोर्डअन्तर्गत बिर्तामोडका कृषि विकास अधिकृत अधिकारीका अनुसार नेपालमा उत्पादित सिटिसी चिया प्रतिकिलो १ सय ५० का दरले बिक्री हुँदै आइरहेको छ । त्यस्तै, अर्थोडक्स चिया प्रतिकिलो ३ सय का दरले बिक्री हुन्छ ।
विषादीरहित चिया उत्पादन
नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बनेसँगै झापामा किसान विषादीरहित चिया उत्पादनमा जुटेका छन् । केही वर्ष अघिसम्म अधिकतम् विषादी प्रयोग गर्दै चिया उत्पादन गर्ने यहाँका किसान अहिले प्रांगारिक चिया उत्पादनमा लागेका हुन् ।
प्रांगारिक चियाले अन्तर्राष्ट्रिय बजारमा सजिलै प्रतिस्पर्धा गर्नसक्ने भएकाले झापाली चिया किसानले विषादीरहित चिया उत्पादन सुरु गरेको कृषि विकास अधिकृत अधिकारी बताउँछन् । उनका अनुसार पूर्वी नेपालको इलाम र पाँचथर प्रांगारिक चिया उत्पादननिम्ति स्थापित भएसँगै यहाँका किसान पनि प्रांगारिक चिया उत्पादनतर्फ लागेका हुन् ।
भारतीय चियाको तुलनामा नेपालमा उत्पादित चिया सस्तो हुने भएकाले यहाँको चिया भारत र त्यहाँबाट तेस्रो मुलुक निर्यात हुने गरेको छ । नेपालमा उत्पादित चियाले टे«डमार्क नपाएका कारण भारतीय व्यापारीले यहाँ उत्पादित चिया भारत लैजाने गरेको र भारतीय ब्रान्डमा नेपाली चिया बिक्री गर्ने गरेको चिया व्यवसायी बताउँछन् । चिया व्यवसायीका अनुसार नेपालमा उत्पादित प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानाडा, जापान, चीनलगायत मुलुकसम्म पुग्ने गरेको छ ।
धमाधम कारखाना खोल्दै
पछिल्लो समय झापामा साना चिया कारखाना खोलिनेक्रम बढेको छ । साना चिया किसान धमाधम कारखाना खोल्न लागेका हुन् । सरकारले साना चिया किसानलाई ५० प्रतिशत अनुदान दिन थालेसँगै किसान आफैं कारखाना खोल्न अग्रसर भएका हुन् ।
चिया उद्योगीसँग सधैँ हरियो चियापत्तीको उचित मूल्य नपाएको भन्दै गुनासो गर्दै आएका किसानले आफ्नै पहलमा चिया कारखाना सुरु गरेपछि लामो समयदेखि चिया उद्योगी र चिया किसानको विवादसमेत केही मत्थर भएको छ ।
झापामा ०६८ सालमा पहिलोपटक पृथ्वीनगरका साना चिया किसानले ७ करोड ३५ लाख रुपैयाँको लागतमा चिया प्रशोधन कारखाना स्थापना गरेका थिए । करिब ३ वर्ष समय खर्चेर सञ्चालनमा ल्याएको उक्त चिया कारखानाले दैनिक १५ हजार किलोसम्म् हरियोपत्ती प्रशोधन गर्ने क्षमता राख्छ । तर, हाल उक्त कारखानाले दैनिक ५ हजार किलो मात्रै प्रशोधन गर्दै आएको सो उद्योगले जनाएको छ ।
जिल्लामा हालसम्म ३० वटाभन्दा बढी चिया प्रशोधन कारखाना सञ्चालनमा छन् । केही कारखाना सहकारीका सञ्चालनमा ल्याएका छन् । साना चिया किसानले सहकारीमार्फत् हल्दिबारी र बाहुनडाँगीमा समेत चिया कारखाना सञ्चालनको तयारी गरिरहेका छन् । त्यस्तै, पाराखोपी साना किसान चिया सहकारी संस्थाले कारखाना स्थापना नै गरिसकेको छ ।