रेडपाण्डा संरक्षणका लागि ३ विद्यालयमा पठनपाठन

रेडपाण्डा सम्बन्धी विषयवस्तु समेटिएको कक्षा ६ र ७ को ‘वातावरण संरक्षण शिक्षा’ पुस्तक विमोचन गरिदैं । तस्विर : राम योङहाङ

राम योङहाङ

इलाम : दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षणका लागि देशमै पहिलो पटक पूर्वी नेपालको ३ विद्यालयमा पठनपाठन सुरु भएको छ । इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न ३ विद्यालयमा वातावरण संरक्षणका लागि स्थानीय पाठ्यक्रम बनाएर पढाइ सुरु गरिएको हो ।

रेडपाण्डा (हाब्रे) को संरक्षणमा काम गर्दै आएको रेडपाण्डा नेटवर्कले तयार पारेको ‘वातावरण संरक्षण शिक्षा’ नामक पाठ्यपुस्तक सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुको अनुमति र संबन्धित विद्यालयको निर्णय बमोजिम यस वर्ष परिक्षणका रुपमा ३ जिल्लाका एक एक विद्यालयमा लागू गरिएको छ ।

पहिलो वर्ष इलामको सन्दकपुर गाउँपालिकास्थित राष्ट्रिय आधारभूत विद्यालय, पाँचथरको फालेलुङ गाउँपालिकास्थित छिरुवा आधारभूत विद्यालय र ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित मायम माध्यमिक विद्यालयमा कक्षा ६ मा पठनपाठन सुरु गरिएको हो ।

आगामी शैक्षिक सत्रदेखि अन्य विद्यालयमा समेत कक्षा ६ र ७ तथा यसवर्ष पढाई भएका ३ विद्यालयमा कक्षा ७ मा समेत ‘वातावरण संरक्षण शिक्षा’ पढाई हुने रेडपाण्डा नेटवर्ककी संरक्षण संयाेजक पेमा शेर्पाले जानकारी दिइन् । स्थानीय विषयवस्तु समेटेर तयार पारिएको १०० पूणाङ्कको सो पाठ्य पुस्तक रेडपाण्डा पाइने क्षेत्रका विद्यालयहरुमा पढाइ हुनेछ ।

अर्काे शैक्षिक सत्रमा इलामका ७, पाँचथरका १० र ताप्लेजुङ्गका ११ विद्यालय गरेर २८ विद्यालयमा स्थानीय पाठ्य पुस्तकको रुपमा वातारण संरक्षण शिक्षा अध्यापन गराइने छ । विद्यालयमा वातावरण विज्ञान अध्यापन गराउँदै आएका शिक्षकले सो पुस्तक पढाउने छन् ।

रेडपाण्डा नेटवर्कले जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर कक्षा ६ र ७ का लागि ‘वातावरण संरक्षण शिक्षा’ पाठ्य पुस्तक तयार गरेको हो । विद्यालय स्तरबाटै वातावरण संरक्षणको चेतना जगाउन स्थानीय पाठ्य सामग्री तयार पारिएको रेडपाण्डाको संरक्षणमा काम गर्दै अाएकाे नेटवर्ककी संरक्षण संयाेजक शेर्पाले बताइन् ।

कक्षा ६ को पुस्तकमा रेडपाण्डा, रेडपाण्डाका लागि संरक्षण संरक्षित क्षेत्र र संरक्षणका स्थानीय अभ्यास, रेडपाण्डा, मानव र वन्यजन्तु वीचको द्वन्द्व र न्युनीकरणका अभ्यास, संस्कार, संस्कृति र पर्यटन लगायतका पाठ्य सामग्री समावेश छन् ।

त्यस्तै कक्षा ७ को पुस्तकमा पूर्वी हिमाल, जैविक विविधता, जैविक विविधता संरक्षण सम्बन्धी ऐन कानुनहरु, प्राकृतिक स्रोतमा आधारित जिविकोपार्जनका अभ्यास र जलवायु परिवर्तन लगायतका शीर्षकहरु समावेश गरिएका छन् ।

यसैबीच सो पाठ्यपुस्तक विमोचन गरिएको छ । कक्षा ६ र ७ को ‘वातावरण संरक्षण शिक्षा’ पाँचथरको फिदिममा आयोजित कार्यक्रममा जिल्ला शिक्षा पाँचथरका विद्यालय निरिक्षक कोमल निरौलाले विमोचन गरेका हुन् । विमोचन गर्दै निरौलाले पाठ्य पुस्तककै रुपमा राखेर पठनपाठन गर्दा प्रभावकारी हुने सुझाव आएपछि पुस्तक विकास गरिएको बताए ।

रेडपाण्डा नेटवर्कको सहयोगमा र दीपज्योति क्लबले आयोजना गरेको कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । विमोचन कार्यक्रमका सहभागीहरुले सो पाठ्यपुस्तकले विश्वबाटै दुर्लभ हुन लागेको रेडपाण्डाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार