केपी अधिकारी
झापा : जन्मजात अशक्त छिन् झापाको बाह्रदशी गाउँपालिका–५ की आस्था अधिकारी । आस्था अहिले ७ वर्षकी भइन् । उनका दुवैै खुट्टा सिधा छैनन् । कम्मरमुनिको भाग चल्दैन । छोएको, चिमोटेको, पोलेको पनि थाहा हुँदैन । त्यसैले दिनभरि कुर्सीमा बस्छिन् । झट्ट हेर्दा उनी कुर्सीमा पलेंटी कसेर बसेजस्तै देखिन्छ । तर, त्यहाँबाट ओर्लिनसम्म सक्दिनन् ।
विद्यालय जाने उमेर भयो । तर, छोरीको स्वास्थ्य अवस्थाकै कारण बुबा अम्बिका र आमा राधिकाले स्कुल पठाउन सकेका छैनन् । घरमै कखरा…, एबिसिडी… सिकाउँदै छन् उनीहरू । कम्मरमुनि ‘सेन्सलेस’ भएकै कारण उनी दिसा–पिसाब आएको पनि थाहा पाउँदिनन् । लगाएको कपडा चिसो भएपछि आमालाई बोलाउँछिन् र अर्को कपडा फेर्न लगाउँछिन् । अभिभावकका अनुसार आस्थाको शरीरमा मेरुदण्ड नै छैन । उनलाई दिनभर कुर्सीमा राखिन्छ । निद्रा लाग्दा खाटमा सुताइन्छ । उनी आजसम्म कोल्टे सुत्न पाएकी छैनन् । आँखाभरी आँसु पार्दै आस्थाकी हजुरआमा दुर्गादेवी भन्छिन्, ‘मेरी नातिनीको संसार नै यही कुर्सी हो ।’
आस्थाको जन्म हुनासाथ चिकित्सकले ७२ घन्टादेखि नबाच्ने भनेर घर पठाइदिएको आमा राधिकाले सुनाइन् । तर, ती चिकित्सकको निष्कर्ष फेल भयो । उनी अहिले ७ वर्षकी भइसकिन् । आस्था तीन महिनाकी छँदा टिचिङ र कान्ति बाल हस्पिटलमा देखाइयो । त्यतिबेला आस्थाको अवस्था देख्नासाथ चिकित्सकले भनेका थिए, ‘ओ माई गड ! यस्तो बच्चा हामीले देखेकै थिएनौं, सायद भगवान् पनि निदाउनुभएछ !’ त्यहीबेला थाहा भएको हो, आस्थाको मेरुदण्ड छैन भनेर ।
आस्थाले दिसापिसाब आएको थाहा नपाएका कारण आमाले दिनहुँ १० देखि १५ वटासम्म कपडा धुनुपर्छ । ‘पछि म डाक्टर हुन्छु अनि सबैलाई निको पार्छु भन्छे,’ टिलपिल आँसु पार्दै आमा राधिकाले भनिन् । घरअगाडि साथीहरू खेलेको हेरिरहन्छिन्, आस्था । कहिलेकाहीँ सोच्दासोच्दै गहिराइमा पुग्छिन् । हजुरआमालाई सोध्छिन्, ‘सबै नाच्छन्, खेल्छन्, मलाईचाँहि किन यस्तो भएको ?’ नातिनीले त्यसो भनेका बेला साहै्र मन दुख्ने हजुरआमा दुर्गादेवी बताउँछिन् ।
चिकित्सकले कम्मरदेखि मुनि प्लास्टिक सर्जरी गर्नुपर्छ भनेका थिए । ढाडमा स्टिल राख्नुपर्ने, त्यसलाई वर्षैपिच्छे फेर्नुपर्ने बताएका थिए । झन्डै १२ लाख रुपैयाँ लाग्ने भनेपछि अधिकारी परिवारका लागि त्यो रकम जुटाउन सहज थिएन । अहिले पनि छैन । उनका बुबा अम्बिका अहिले बिर्तामोडमा सिटी रिक्सा चलाएर परिवार धान्दै छन् ।
पैसा भए छोरीको उपचार सम्भव छ जस्तो लाग्छ अम्बिका र राधिकालाई । तर, उपचारमा चाहिने पैसा छैन उनीहरूसँग । ‘हाम्रा लागि कोही भगवान् भएर निस्किए भने छोरीको उपचार गर्ने थियौं,’ अम्बिकाले भने, ‘दिसापिसाब मात्र कन्ट्रोल भइदिए ह्विलचियरमा राखेर भए पनि स्कुल पु¥याउथें छोरीलाई ।’