राम योङहाङ
इलाम : निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न सुरु गरेपछि इलाममा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड लागेको छ ।
यसअघि मतदाता नामावलीमा छुट भई स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकाहरू नाम लेखाउन ओइरिएका हुन् । आयोगले छुट मतदाताहरूलाई फोटो सहितको नामावली दर्ताका लागि साउन १ देखि १५ गतेसम्म समय दिएको छ ।
आयोगले जिल्ला निर्वाचन कार्यालयमा पुगेर नाम दर्ता गर्न आग्रह गरेको छ । इलामको हकमा सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालयमा नामावली संकलन गर्ने व्यवस्था मिलाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय इलामले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सोमबारसम्म एक हजार पाँच सय ४७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । जसमा सात सय ३६ महिला र आठ सय ११ जना पुरुष रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर कृष्णकुमार लिम्बू जानकारी दिए ।
सोमबारमात्र दुई सय ८७ जनाले मतदााता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा एक सय ५० जना महिला र एक सय ३७ पुरुष रहेका छन् । धेरै मात्रामा इलाम नगरपालिकाका छन् भने केही ग्रामीण भेगका छन् । नाम दर्ता गराउनेमा युवादेखि वृद्धवृद्धा समेत रहेका छन् । जसमध्ये धेरैजसो विदेशिएका युवाहरु रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयो गले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नामावली संकलन तथा अद्यावधिक सुरु गरेको कायार्लयले जनाएको छ । नामावली अद्यावधिक कार्यक्रमले स्थानीय तहको निर्वाचन अघि छुटेका मतदाताहरूलाई नाम दर्ता गर्ने अवसर दिएको छ । १८ वर्ष उमेर पुगिसकेका व्यक्तिले फोटो सहितको नामावली दर्ता पाउने छन् ।
साउन १ गतेबाट सुरु गरिएको मतदाता नामावली अद्यावधिक कार्यक्रम साउन १६ गतेबाट जिल्लाका सबै नगरपालिका र गाउँपालिकाबाट सञ्चालन गरिने बताईएको छ ।
निर्वाचन आयोगले साउन १५ गतेसम्म जिल्लामै आएर नाम दर्ता गराउने समय तोकेको तथा साउन १६ गतेबाट साउन मसान्तसम्म जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाको केन्द्रमा पनि नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
साउन मसान्तसम्म चल्ने मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी भई यसअघि मतदाता नामावलीमा नाम समावेश नभएका व्यक्तिले नगरपालिका र गाउँपालिकाको केन्द्रमा गएर नाम दर्ता गराउन सक्ने लिम्बूले बताए ।
इलाममा एक लाख ८९ हजार दुई सय ७४ जना मतदाता रहेको छ । अद्यावधिक गर्न थालेपछि मतदाताहरूको संख्या थपिने छ । वैदेशिक रोजगारीमा गएका युवाहरूले नाम दर्ता गर्न छुटाएका थिए । घर फर्किएकाहरूले नाम दर्ता गरिरहेका छन् ।