गोर्खाल्याण्ड आन्दोलनको असर पशुपतिनगरमा

लाखाैंको तरकारी कुहिएरै नष्ट

सुजता सुनुवार

इलाम : डेढ महिना अघिबाट सुरु भएको गोर्खाल्याण्ड आन्दोलनको प्रत्यक्ष असर इलामको पशुपतिनगर बजारमा परेको छ ।

आन्दोलन अन्तरगत आह्वान गरिएको बन्दका कारण अहिले बजार सुनसान छ । खेती किसानमा नै निर्भर रहेर जीविकोपार्जन गरीरहेका कृषकहरु बढी मारमा

परेका छन् । लाखौंको तरकारी कहिएर नष्ट भएका छन् ।बन्दका कारण तरकारी बिक्री हुन छाडेपछि स्थानीयलाई परिवार चलाउन धौधौ हुन थालेको छ । ‘हामी सबै कृषि पेशामा निर्भर छौँ, कसैको अन्य आयस्रोत छैन’ सुर्योदय नगरपालिका २ पशुपतिनगरका कृषक कुमार तामाङले भने, ‘बन्दका कारण व्यापारी आउन

छाडेकाले तीन लाख बढीको सब्जी बारीमा नै कुहिएरै गयो । कसरी परिवार धान्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।’ पशुपतिनगरमा नजिकका बजार छैनन् । त्यहाँका कृषकसले ३ घण्टाको यात्रा गरेर काकडभिट्टाको बजारसम्म विक्रीका लागि लैजानु पर्ने अवस्था सिर्जना भएको छ । ‘एक गाडी सामान काकडभिट्टा लैजादा भाडा मात्र चार हजार पाँच सय लाग्छ’ २५ वर्षदेखि निरन्तर व्यवसायिक रुपमा कृषि पेशामा आवद्ध कृषक तामाङले भने, ‘दुःख गरेर फलाएको कृषिजन्य वस्तु बारीमा नै कुहिएर नष्ट भएको छ । यसलाई टुलुटुलु हेरेर बस्न सिवाय अर्को विकल्प छैन ।’

आफ्नै बारीमा २५ रुपैयाँ प्रति केजीले बिक्री हुने कोपी अहिले झापाको काकडभिट्टामा लगेर दुई देखि पाँच रुपैयाँसम्म प्रतिकेजीमा विक्री गर्न कृषकरु बाध्य छन् । ९० रुपैयाँ पर्ने धनियाँ पनि अहिले मुस्किलले ३० रुपैयाँमा विक्री गर्नु परीरहेको छ ।

यातायातको राम्रो सुविधा नहुनु, यातायातका साधन सीमित हुनु जस्ता समस्याले पनि टाडा लगेर विक्री गर्न नसकिएको व्यापारी आरती लिम्बु (सुनुवार) ले बताए । यस सिजनका नगदेबाली विक्री नभएका कारण बारीमा नै कुहाएर फ्याक्न पशुपतिनगरका किसानहरु बाध्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार