कृषि क्षेत्रमा सरकारी लगानी बढेन

इलामकाे एक किसानले बारीमा राेपेकाे अदुवा । फाइल तस्विर : नयाँ बुलन्द

नयाँ बुलन्द

इलाम : नगदेबालीमा अग्रणी मानिएको इलाम जिल्लामा कृषि उद्यममा कृषकको आकर्षण थपिँदो छ । बढ्दो बेरोजागरीसँगै विदेश पलयान हुने लहर चलेको बेला यहाँ कृषिबाटै अर्बौं कमाइ छ । बिदेसिने क्रममले कृषि श्रमिकको अभाव चर्कंदै गएको छ । तर, दीर्घकालीन सम्भावनाको यो क्षेत्रलाई व्यवस्थित बनाउन राज्यको दायित्व निराशाजनक देखिएको छ ।

यहाँका प्रमुख आठ बालीबाट यो वर्ष ७ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । दूध, चिया, जडीबुटी र अन्य फलफूलसमेत जोड्ने हो भने जिल्लामा वार्षिक ३० अर्ब हाराहारीको आम्दानी छ । तर, यति धेरै आम्दानी गर्ने कृषि क्षेत्रमा सरकारी लगानी अत्यन्त न्यून मात्र छ । जिल्ला कृषि विकास कार्यालयले आर्थिक वर्ष ०७२र७३ मा प्रत्यक्ष कृषकको हितमा ३ करोड ५४ लाख मात्र खर्च गरेको छ । कार्यालयको कुल बजेट ५ करोड ४६ लाखमध्ये प्रशासनिकतर्फ ३५ प्रतिशत १ करोड ९१ लाख रुपैयाँ खर्च भएको हो ।

अलैंची, अदुवा, आलु, अकबरे, तरकारी, किवी, मह, सुन्तला, चिया, जडीबुटी लगायतमा कृषकको लगानी र श्रम बर्से्नि बढ्दो छ । तर त्यहाँ चाहिने प्राविधिक सेवादेखि आवश्यक मलखाद, विषादी, विरुवा, सिँचाइ, बजार व्यवस्थापन लगायतमा सरकारले गर्नुपर्ने दायित्व न्यून हुँदा अपेक्षाकृत रूपमा कृषि पेसा नफस्टाएको कृषकको गुनासो छ । अझै पनि जिल्लाको कुल खेती गरिएको क्षेत्रमध्ये १० प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । एउटा प्राविधिकले दुई हजार पाँच सय कृषक परिवारलाई सेवा पुर्याउनुपर्ने अवस्था रहेको कृषि कार्यालय बताउँछ ।

लोभलाग्दो गरी दूधबाट आम्दानी हुने भए पनि व्यावसायिक गाई पालनलाई प्रवद्र्धनसँगै अन्य पशुजन्य उत्पादन बढाउन पशु सेवा कार्यालयसँग पनि न्यून मात्र कार्यक्रम छ । दैनिक एक लाख लिटर दूध बिक्री गर्ने यहाँका कृषकले वार्षिक १२ अर्ब रुपैयाँ जिल्ला भित्र्याउँछन् । ‘मिल्क होलिडेका कारण बजार अनिश्चितता भएकाले माग भए पनि दूध उत्पादन बढाउन ठूलो लगानी गर्न नसकिएको हो,’ पशुसेवा कार्यलयका प्रमुख पशुपति ढुंगानाले भने ।

जिल्लाका हरेक गाविसमा कृषि र पशुपालनकै कारण जनजीवन चलेको छ । ‘कृषकको मागअनुसार अहिलेको कार्यक्रम अत्यन्त न्यून मात्र हो,’ कृषि विकास कार्यालयका प्रमुख प्रकाश डाँगीले भने, ‘सबै क्षेत्र जोड्न हो भने कृषकबाट वार्षिक अर्बौं रुपैयाँको कार्यक्रम माग छ ।’ कृषकको मेहनत र लगानीले मात्र यतिधेरै कमाइ भएको अवस्थामा राज्यले पनि साथ दिने हो भने कृषिको विकल्प खोज्नु नपर्ने अवस्था हुने सरोकारवाला बताउँछन् । आम्दानीसँगै पछिल्लो समयमा विभिन्न बालीमा देखिएको रोग, बजार प्रवद्र्धन, लगानी, प्रविधि र प्राविधिक ज्ञानको अभाव जस्ता समस्यासँग जुध्न कृषकलाई मुस्किल छ । जिल्लाको पर्यटन पहिचानसँगै हजारौं परिवारको जीवन जिउने माध्यम बनेको चियाबाट वार्षिक करोडौं रुपैयाँ आर्जन हुन्छ । तर, चियासम्बन्धी कृषि विकास कार्यालयसँग कुनै पनि कार्यक्रम र बजेट छैन ।

चिया खेतीको प्रवद्र्धनका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई जिम्मा दिइएको भए पनि कृषक स्तरसम्म प्रभावकारी कार्यक्रम पुग्न नसक्दा समस्या भएको छ । बोर्डमा हुने राजनीतिक चलखेल र कृषकस्तरसम्म पुग्न न्यून मात्र बजेटका कारण कृषकले धेरै भरोसा गर्न छाडेका छन् । मुलुक भरमा सबैभन्दा धेरै अदुवा उत्पादन गर्ने यो जिल्लाका कृषक पनि सरकारी सहायताको अभावमा छन् ।

अदुवाबाट बार्षिक २ अर्ब २० करोड रुपैयाँ भित्रने कृषि कार्यालयको तथ्यांक छ । रोगको प्रकोपले अलैंची बगान सखाप भए पनि कृषकको प्रयासले पुनस् ब्यँतिने क्रममा छ । यो वर्ष १ अर्ब ५ करोड ५५ लाख रुपैयाँको अलंैची उत्पादन भएको हो । पछिल्लो आँकडाअनुसार उत्पादन बढ्दै गएको छ ।

तर, कार्यालयले कृषकको मागभन्दा धेरै कम मात्र लगानी गर्न सकेको छ । १२ लाख बिरुवा माग भएकामा कार्यालयले १ लाख ७० हजार मात्र दिन सक्यो । कृषि क्षेत्रमा संभावना र अवसर धेरै भएपनि सरकारी लगानी कम हुँदा किसान निरास देखिन्छन् । त्यसैले इलाममा कृषि क्षेत्रको विकासका लागि लगानी बढाउनुपर्ने किसानहरुको माग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार