काठमाडौं : कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् ।
अख्तियार प्रमुख र प्रधानन्यायाधीशमाथिको महाअभियोग, आइजिपी प्रकरण र राजदूत सिफारिस प्रकरणमा पार्टीले उचित निर्णय नलिँदा, राम्ररी उम्मेदवार छनोट नहुँदा र अन्तर्घात हुँदा कांग्रेसले हार्नुपरेको सदस्यहरूको निष्कर्ष छ । फेरि पनि संविधान संशोधनलाई अलपत्र पार्ने, दुई चरणको निर्वाचनका कमजोरीलाई नसुधार्ने र आफ्नै नेतृत्वको सरकारलाई प्रभावकारी नबनाए २ नम्बर प्रदेशमा हुने तेस्रो चरणको निर्वाचनमा समेत पार्टी कमजोर हुने भन्दै सदस्यहरूले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नयाँ पत्रिकामा खबर छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘पहिलो र दोस्रो चरणको निर्वाचन भयो । हामी दोस्रो नम्बरमा आयौँ । यसको पनि समीक्षा गरौँ । २ नम्बर प्रदेशमा पनि निर्वाचन हुँदै छ, यसका लागि पनि पार्टीलाई कसरी प्रभावकारी ढंगले लैजाने भन्ने सुझाब दिनुस्’ भन्दै बैठकको सुरुवात गरे ।
पौडेलले भने, ‘हामी किन डिफेन्सिभ भयौँ, अफेन्सिभ किन भएनौँ ?’ नेता रामचन्द्र पौडेलले सुरुमै पहिलो र दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न तेस्र्याए । ‘हामी पहिलो र दोस्रो चरणको निर्वाचनमा किन हार्यौँ । संविधानसभामा पहिलो भएको पार्टी किन पछि प¥यो,’ पौडेलले भने, ‘ठूलो पार्टी, संविधान जारी गरेको पार्टी किन डिफेन्सिभ भयो ? अफेसिन्भ किन हुन सकेनौँ ?’
पार्टी कमजोर देखिनुका पछाडि पौडेलले १५ बुँदा प्रस्तुत गरे । संसदीय समिति गठन गरी टिकट वितरणलाई प्रभावकारी बनाउनुपर्ने, परिचालन समिति र प्रचारप्रसार समितिलाई सक्रिय बनाउन उनले माग गरे । पौडेलले विभाग गठन नहुने, अनुशासन समिति नबन्ने, केन्द्रीय समितिले पूर्णता नपाउने भन्दै तत्काल महासमिति बैठक डाक्न पनि माग गरेका छन् ।