युद्धबहादुर बोहोरा
इलाम : वर्षातका कारण केहि दिनदेखि अवरुद्ध राँके-रवि सडक पुन सञ्चालनमा आएको छ । इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको घुर्बिसे पंचमी नजिकै मगर भित्तामा पहिरो खसेर बाटो बन्द भएको थियो ।
सडकको मर्मत सम्भार र स्तरोन्नती गरेपछि पुन सञ्चालनमा आएको हो । मर्मतको काम ओएसिस कम्पनीले गर्दै आएको छ । पहिरो हटाउन स्थानीय फाल्गुनन्द-५ का स्थानीय समाजसेवी तिलविक्रम चेम्जोङ र फाकफोकथु-१ वडाध्यक्ष जनप्रतिनिधि टेकवीर नेम्वाङले पहल गरेका थिए ।
सडक डिभिजन कार्यालय इलामबाट डोजर सहित सडक सुपरभाइजरको टोलिले मर्मत गरेको बाटो अनुगमन समिति अध्यक्ष दानबहादुर अधिकरीले जानकारी दिए । बाटो बन्द भएपछि त्यहाँका सयौं यात्रीहरू समस्यामा परेका थिए । झापाको विर्तामोड, इलाम र फिदिमबाट पाँचथर, इलामका सप्तमी, रवि र यासोक दैनिक ओहोर दोहोर हुने सवारी साधनहरु नचल्दा जनजीवन कष्टकर बनेको थियो ।
सो सडकमा दैनिक ३० भन्दा बढी ट्याक्सी, मोटरसाइकल, एम्बुलेन्स र ट्याक्टर सञ्चालन हुने गर्दछ । सडकले इलाम र पाँचथरका ग्रामीण वस्तीहरुमा दैनिक उपभोग्य सामान, बिरामी र निर्माण सामाग्रीहरु ओसारपसार लगायत अन्य सुविधाहरु दिदैं आइरहेका छन् ।
धेरै ठाँउमा लगाएको ग्रावेल बिग्रेको छ । पानीले सडक चिप्लो भइ गाडी चलाउन कठिनाई रहेपनि यात्रुलाई सेवा सुविधा भने निरन्तरता दिइरहने चेम्जोङ ट्राभल्सका साहु पञ्चबहादुर चेम्जोङले बताए । यो सडक राष्ट्रिय योजना आयोगको उच्च प्राथमिकता (रेड बुक) मा समेत परेको छ ।
करिब १०३ किलोमिटर दुरी रहेको उक्त सडक राँकेदेखि धनकुटा भेडेटारसम्म महाभारत डाडाँ हुँदै पहाडी क्षेत्रमा पर्दछ । नेपालकै एक अनौठो यस सडकमा कुनै पनि नदि नपर्ने हुँदा पुल विहिन सडकको रूपमा परिचित छ । रवि-चिसापानी पञ्चमी हुँदै झापाको दमक समेत जोडिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको कालोपत्रे योजनाको लागि टेण्डरको प्रक्रिया अगाडि बढेको र निकट भविस्यमै सुविधायुक्त राजमार्ग बन्न लागेको सडक सुपर भाइजर सौरब बस्नेतले जानकारी दिए ।