सडक ऐन पालना गराउने नगरपालिकाको निर्णय

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिकाले नगर नियमावली, बैठक संचालन कार्यविधी स्विकृत र कार्यविभाजन गरेको छ ।

नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले नेपालको संविधान २०७२ को भाग १७ को धारा २१६ बमोजिम नगर नियमावली २०७४, कार्यविभाजन २०७४ र बैठक संचालन कार्यविधी २०७४ लगायतको निर्णयहरु स्विकृत गरेको हो ।

त्यस्तै बैठकले प्रसुती स्याहार खर्च सम्बन्धी प्रतिवेदनका लागि नगर उपप्रमुख शुसिला नेम्वाङको संयोजकत्वमा ३ सदस्यीय समिती गठन गरेको छ । सो समितीले आगामी एक सातामा प्रतिवेदन दिने छ ।

श्यामकृष्ण घिमिरेको संयोजकत्वमा ३ सदस्यीय मजदुर विमा व्यवस्था समिती गठन गरेको छ । समितीले १० दिनभित्र इलाम नगरपालिका रहेका मजदुरहरुको सम्वन्धमा प्रतिवेदन प्रस्तुत गर्नेछ । नगरपालिकाभित्र हुने निर्माण कार्यमा प्रयोग हुने मजदुहरुको निर्माण समयमा सम्वन्धीत घरधनीसँगको सहकार्यमा विमा गरिनेछ ।

त्यसै गरी २०७२ चैत मसान्तअघि नगरपालिकाभित्र स्थायी बसोवास गर्ने घरवार विहिन दलितहरुको पुर्नस्थापनाका लागि १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी ठाकुरनारायण श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरिएको छ । नगर कार्यपालिकाको काम, कर्तव्यमा सुशासन कायम गर्न श्रेष्ठलाई नै प्रवक्ता तोकेको छ ।

नगर सभाले निर्णय नगरुन्जेलसम्म इलाम नगरपालिकामा गाभिएका साविकका गाविसहरुको तोके बमोजिमको करको दररेट कायम रहने भएको छ । नगरभित्रका जग्गा प्लटिङ गर्नुपरेमा व्यवसायिक योजना बनाएर नगरपालिकाबाट स्विकृत गरेरमात्र गर्न पाइने भएको छ ।

त्यस्तै सार्वजनिक सडक ऐन २०३१ लाई मिचेर बनाइएका मेची राजमार्ग क्षेत्रका अवैध भौतिक संरचना हटाउन सडक डिभिजन कार्यालयलाई आग्रह गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार