इलामका सबै तहमा पहिलो किस्ता रकम निकासा

इलाम : इलामका चार नगरपालिका तथा ६ गाउँपालिकासहित १० वटै स्थानीय तहमा कोष तथा लेखा नियन्त्रक कार्यालयले पहिलो किस्ता बापतको रकम निकासा गरेको छ ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त बजेट अनुसार जिल्लाका दशै तहमा जम्मा उपलब्ध गराउने रकम मध्ये पहिलो किस्ता बापतको रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ ।

नयाँ आर्थिक वर्ष २०७४/०७५ को सुरुमै दशै तहमा पहिलो किस्ताको रकम निकासा गरेको कार्यलय प्रमुख कोष नियन्त्रक रविन कोइरालाले बताए । दश स्थानीय तहमा अर्थ मन्त्रालय मार्फत सरकारले दुई अर्ब ९४ करोड ५५ लाख ४२ हजार अनुदान रकम उपलब्ध गराउने भएको हो ।

अनुदानको रकम साउन १, मंसीर १ र चैत्र १ गते गरी तीन किस्तामा दाखिला हुने भएको छ । दशवटै तहमा वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान पहिलो चरणमा दाखिला गरिएको हो । इलाम नगरपालिकाले  पहिलो किस्ता बापत १५ करोड ६२ लाख ८३ हजार ६ सय ६६ रुपैयाँ पाइसकेको छ ।

यस्तै देउमाइ नगरपालिकाले पहिलो किस्तामा दश करोड ७० लाख २ हजार ६ सय ६६ रुपैयाँ, माइ नगरपालिकाले ११ करोड ७३ लाख २१ हजार ६ सय ६६ रुपैयाँ र सुर्योदय नगरपालिकाले १५ करोड ३० लाख २३ हजार ३ सय ३३ रुपैयाँ पाइसकेको छ ।

चुलाचुली गाउँपालिकाले ७ करोड ५५ लाख ८५ हजार रुपैयाँ, फाकफोकथुम गाउँपालिकाले आठ करोड ५४ लाख ६५ हजार ६ सय ६६ रुपैयाँ, माइजोगमाई गाउँपालिकाले सात करोड ९२ लाख २२ हजार ३ सय ३२ रुपैयाँ पाएको छ ।

यस्तै माङसेबुङ्ग गाउँपालिकाले  सात करोड ३४ लाख ३५ हजार ३ सय ३३ रुपैयाँ, रोङ गाउँपालिकाले सात करोड ६४ लाख ५६ हजार रुपैयाँ, सन्दकपुर गाउँपालिकाले ६ करोड ६५ लाख ३९ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ ।

प्राप्त अनुदान मध्येबाट समानिकरण अनुदान चालु आवका लागि निशर्त प्रकृतिको अनुदान भएकाले तलव भत्ता र प्रशासनिक खर्च लगायत हस्तान्तरण भएका कार्यक्रम समेतलाई विचार गरी गाउँसभा र नगरसभाबाट स्वीकृत जुनसुकै कार्यक्रममा खर्च गर्न पाउने निर्देशिकामा व्यवस्था छ ।

यस्तै ससर्त अनुदानको हकमा स्थानीय तह मातहतको सम्बन्धित विषयगत इकाइ वा जिल्लास्थित कार्यालयसँग समन्वय गरी तोकिएको काममा मात्र खर्च गर्न पाइने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार