११६ द्वन्द्वपीडितलाई पाँच करोड ६६ लाख

सुजता सुनुवार

इलाम : मुलुकमा चलेको १० वर्षे माओवादी सशस्त्र यद्धबाट पीडित भएका इलामका द्वन्द्वपीडितलाई पाँच करोड ६६ लाख रुपैयाँ राहत वितरण गरिएको छ  ।

स्थानीय शान्ति समिति मार्फत विभिन्न ५ वर्गमा विभाजन गरी एक सय १६ द्वन्द्वपीडितलाई सो राहत रकम उपलब्ध गराइएको हो । यसरी राहत पाउनेमा एक सय आठ सर्वसाधरण, चार सेना–प्रहरी र चार जना बेपत्ताका परिवार रहेका छन् ।

उनीहरुको परिवारलाई नेपाल बैंक मार्फत राहतरकम उपलब्ध गराईएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । ‘शान्ति तथा पुनःनिर्माण मन्त्रालय द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदल’ले तयार गरेको प्रतिवेदनको आधारमा निवेदन संकलन गरी पहिचान भएकालाई क्षतिपूर्ति तथा आर्थिक सहायता स्वरुप रकम उपलब्ध गराइएकोे जिल्ला प्रशासन कार्यालय इलामका नायब सुव्वा नित्यानन्द घिमिरेले जानकारी दिए ।

कार्यदलको प्रतिवेदन अनुसार सशस्त्र द्वन्द्वका क्रममा मारिएका एक सय १२ जना मृतकको परिवारलाई यसअघि पाएको रकममा थप गरी १० लाख पुर्याइएको छ । यस्तै, बेपत्ता भएका चार जनाको परिवारको लागि यसअघि प्राप्त भइसकेको रकममा थप गरी जम्मा १० लाख रुपैयाँ नै बेपत्ता व्यक्तिको हकदारलाई प्रदान गरिएको छ ।

घिमिरेका अनुसार बैंक खातामा मृतक परिवारका हकदारको खातामा पाँच करोड ४६ लाख तथा बेपत्ता परिवारको हकदारको खातामा २० लाख रुपैंयाँ राहात रकम जम्मा गरीसकेकोले उनीहरुले बैंकबाटै राहात रकम लगिसकेको बताइएको छ ।

द्वन्द्वको समयमा राज्य तथा तत्कालीन विद्रोही पक्ष (माओवादी) बाट अपहरणमा परेको भनी पहिचान भएका तथा र विस्थापित जीवन बिताउन बाध्य एक सय ९३ जनाको लागि २५÷२५ हजार राहत रकम भने जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरीएको नासु घिमिरेले बताए । विस्थापितमध्ये केहीले अझै उक्त राहात रकम नलगेको र निवेदन समेत नआएको बताइएको छ ।

विस्थापित परिवारका लागि जम्मा २४ लाख ८९ हजार नौ सय रुपैयाँ वितरण गरीएको छ । कार्यदलको प्रतिवेदन अनुसार द्वन्द्वपीडितलाई वितरण गर्न करिब ६ करोड रुपैयाँ बजेट प्राप्त भएपनि निवेदनमा पर्याप्त प्रमाण नपुगेको तथा बैँंक खाता नभएका व्यक्तिलाई रकम उपलब्ध गराउन नमिल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार