मुआब्जाको माग गर्दै कोरिडोरको काममा अवरोध

नयाँ बुलन्द

इलाम : स्थानीय बासिन्दाको अवरोधका कारण निर्माणाधीन कावेली कोरिडोरको काम दुई महिनादेखि ठप्प छ ।

कोरिडोरले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन विपरित एक सय ३२ केभी ट्रान्समिसन लाइनको टावर गाड्न थालेको भन्दै इलामको देउमाई नगरपालिका ७ सिद्धिथुम्काका बासिन्दाले अवरोध गरेपछि काम रोकिएको हो ।

अवरोधपछि सिद्धिथुम्काको पञ्चमी बजार क्षेत्रमा कोरिडोरको टावर गाड्ने, तार टाँग्ने लगायतका काम ठप्प भएको छ । कोरिडोरको काम रोकिएपछि टावरका लागि आवश्यक सामग्री अलपत्र परेका छन् ।

बजार क्षेत्रमा जग्गाको मुआब्जा र क्षतिपूर्ति दिने भन्दै प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन विपरित कोरिडोरले स्थानीय बासिन्दासँग मोलमोलाई सुरु गरेको स्थानीयको आरोप छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए रिर्पाेट) देखाएर प्रतिवेदनमा उल्लेख भए अनुसार काम हुनुपर्ने, टावर पर्ने क्षेत्रको जग्गाको उचित्त मुआब्जा, पुर्नवास, रोजगारी र सतप्रतिशत क्षतिपूर्ति दिए कोरिडोरको काममा अबरोध नगर्ने स्थानीय बासिन्दाको भनाई छ ।

यता पनि मानव बस्तीलाई जोगाएर मात्रै प्रशारण लाइन विस्तार गर्न माग गर्दै स्थानीय बासिन्दाले निर्माणमा अवरोध गरेको स्वीकार गरेको छ । आयोजनाको प्रतिवेदन अनुसार नै काम भइरहेको भन्दै आयोजना प्रमुख द्विपेन्द्रराज द्विवेदीले आयोजनको काम सिद्धिथुम्का क्षेत्रमा रोकिएको स्वीकार गरे । ‘जिल्लाको अन्य क्षेत्रमा काम भइसकेको छ’ उनले भने, ‘सिद्धिथुम्कामा केही व्यक्ति अरुबाट सञ्चालित छन् । उनीहरुकै उक्साहटमा काम रोकिएको हो ।’

आयोजना प्रमुख द्विवेदीले स्थानीय बासिन्दालाई उचालेर केही व्यक्तिले आयोजनाको काम रोकेको आरोप लगाए । ‘हामी प्रभावित नागरिकको पक्षमा छौं, जसको घरजग्गा पर्छ, सतप्रतिशत क्षतिपूर्ति र मुआब्जा दिन्छौं’ उनले भने ‘प्रभावितलाई राज्यको नीति अनुसार दिने सेवा सुविधा दिन हामी तयार छौं ।’

आयोजना प्रभावित क्षेत्रका स्थानीय संर्घष समितिले भने बजार र मानव बस्तीलाई जोगाएर अन्तै सार्न माग गर्दै आएका छन् । आयोजनाले यसो गर्न नसके उचित मुआब्जा र सतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने, टावर र तार कसको घर जग्गामा पर्छ यकिन गरेर नापी गर्नुपर्ने बताउँदै आएको छ । कोरिडोरले भने सार्न नसकिने आयोजना प्रभावितलाई उचित मुआब्जा र क्षतिपूर्ति दिने बताउँदै आएको छ ।

स्थानीयको अवरोधका कारण काम ठप्प हुँदा निर्माणाधिन काबेली कोरिडोरको एक सय ३२ केभी राष्ट्रिय प्रशारण लाइन बिस्तारमा समस्या आएको छ । इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न समेत ढिलाई हुने भएको छ

प्रशारण लाइन बिस्तारको अवरोधले इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानका जलविद्युत आयोजनाद्वारा उत्पादित जलविद्युत खेर गइरहेको छ । झापाको दमकबाट इलाम हुँदै पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर राष्ट्रिय प्रशारण लाइनको इलामको गोदकमा सब स्टेशन निर्माण पूरा भएपनिइलामबाट पाँचथरसम्मको हाइटेन्सन टावर निर्माण र तार बिस्तारको काम ढिलाई भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोग दुई अर्ब ८५ करोड रुपैयाँ लगातमा निर्माणाधिन एक सय ३२ केभीको प्रशारण लाइन निर्माणको काम भारतीय कम्पनी जगबर ओभरसिज र स्तरजेभी प्राइभेट लिमिटडले गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार