राम योङ्हाङ
इलाम : दुई सातादेखि लगातार परेको वर्षाको कारण इलामका ग्रामीण सडकहरु क्षतिग्रस्त भएका छन् । कच्ची सडकहरु भत्किएपछि सवारी साधानहरु चल्न छाडेका छन् । झापाको दमकबाट पाँचथरको रवि हुँदै उत्तरी इलामको राँके जोड्ने फाल्गुनन्द मार्ग वर्षाले क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध छन् । गाडी नचल्दा स्थानीयको जनजीवन प्रभावि बनेको छ ।
पुर्वी पहाडी जिल्ला इलाम र पाँचथरका चार गाउँपालिकालाई छुने करीब ७० किलोमिटर दुरीको कच्ची सडकमा यातायातको साधन चल्न छोडेपछि हजारौं बासिन्दा प्रभावित बनेका हुन् । सडक निर्माणमा राज्यको चासो जान नसकेका कारण वर्षेनी वर्षादको समयमा सो सडकमा सवारी साधन चल्न सक्दैनन् ।
रतुवाको किनारै किनार पर्ने दमक–लारुम्बा सडक खण्डको १७ किलोमिटर दुरी वर्षाले बढी क्षतीग्रस्त बनाएको छ । खोलामा आएको बाढीले सडक भत्किएर लथालिङ्ग भएपछि ट्याक्टर समेत चल्न मुस्किल परेको माङसेबुङ गाउँपालिका ६ का स्थानीय किरण राईले बताए ।
अन्य सडकखण्डमा पनि पानीको भलले बाटो बिग्रिएको, खाल्डाखुल्डी भएको र हिलो जमेकाले गाडी चल्न छाडेका छन् । पानीले सडक हिलाम्मे भएर रोपाई गर्ने खेत जस्तै भएको छ । अब घाम नलागेसम्म कुनैपनि गाडीहरु चल्न नसक्ने निश्चित छ ।
सो मार्गमा गाडीहरु चल्न नसकेपछि अर्को सडक भएर लामो दुरी पार गर्दै अत्यावश्यकीय खाद्य सामाग्री लैजाँदा इलाम र पाँचथरका आधा दर्जन गाउँपालिकाका बासिन्दाहरु महँगीको चपेटामा परेका छन् ।
हिउँदमा सहज रुपमा बस र ट्याक्सीहरु गुड्ने भएपनि वर्षाद सुरु भएपछि रतुवा खोलामा बाढी आउने र बाटो समेत हिलो हुने भएकाले कुनै प्रकारको सवारी साधन चल्न सक्दैनन् । सडक क्षतिग्रत नहुञ्जेलसम्म सो मार्गमा दैनिक तीन दर्जन बढी ट्याक्सी, बस, ट्रक र ट्याक्टरहरु सञ्चालन हुँदै आएका थिए ।
सडमा गाडी चल्न छोडेछि इलामका माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका विभिन्न क्षेत्र तथा पाँचथरको मिक्लाजुङका विभिन्न क्षेत्रका हजारौं बासिन्दाले सदरमुकाम र तराईका बजार झर्न लामो दुरीको पैदल यात्रा गर्नुपर्ने बाध्यता सुरु भएको छ ।
त्यहाँ उत्पादन भएका कृषि सामाग्रीहरु तराई आउन नपाउने र तराईबाट अत्यावश्यकीय खाद्य सामाग्रीहरु समेत त्यहाँ लैजान नसक्दा जटिल अवस्था सिर्जना भएको व्यापारीहरु बताउँछन् ।
राज्यले प्रत्येक बर्È सो सडकलाई नियमित बजेट छुट्टयाउने गरेको भएतापनि कनिका छरेजस्तो भएकाले वर्षेनी उही समस्या दोरिने गरेको स्थानीयको गुनासो छ । सो सडकमा हालसम्म करिब २५ करोड बढी लगानी भइसकेको भएपनि अहिलेसम्म ट्रयाक पुर्ण रुपमा खुल्न सकेको छैन ।
धैरै जनश्रम र थोरै सरकारी सहयोगबाट निर्माण पुर्ण भएको यस फाल्गुनन्द मार्गमा यातायातका साधन चल्न छोडेपछि दैनिक उपभोग्य वस्तु ओसारपसारमा समस्या भएको छ । सो सडकमा वर्षादमा क्षतिग्रस्त भएपनि वर्षेनी घाम लाग्न थालेपछि मर्मत गरेर असोज अन्तिमदेखि यातायात सञ्चालन हुन्छ ।
पुर्वी पहाडी जिल्लाहरुलाई जोड्ने सबैभन्दा छोटो दुरीको सडकको रुपमा रहेको यस सडकको १२ किलोमिटर रतुवाको किनार मात्र पर्दछ । झण्डै तीन दशकदेखि निर्माण सुरु गरिएको सडकले यतिका दिनसम्म पनि पुर्णता पाएको छैन । यस सडकमा हिउँदमा समेत रतुवाको खोला नै खोला भएर सवारी साधन गुड्ने गर्दछ । खोला पार गर्न झण्डै तीनसय पटक खोला वारपार गर्नु पर्दछ ।