रेडपाण्डाको प्रजनन समयमा आवातजावत बन्द

इलाम : रेडपाण्डा पाइने इलाम र भारतको सीमा क्षेत्र सिंहलीला नेशनल पार्क तथा सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वन उपभोक्ता समूहले रेडपाण्डाको प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको छ । पर्यटकको होहल्लाले रेडपाण्डाको प्रजनन र यौन प्रक्रियामा असर पुग्ने भन्दै आवतजावतमा प्रतिबन्ध लगाएको हो ।

रेडपाण्डा पाइने स्थानमा जुन १५ देखि सेप्टेम्बर १५ तारिख तीन महिनासम्मका लागि पर्यटक र स्थानीयवासीलाई वन क्षेत्रमा आवतजावत गर्न प्रतिबन्ध लगाएको हो ।

इलामको तुम्लिङदेखि पाँचथरको फालोटसम्मको नेशनल पार्क क्षेत्र र चोयाटार सामुदायिक वनभित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको माईजोगमाई–२ स्थित तुम्लिङका होटल व्यवसायी तिलक गुरुङले बताए ।

कञ्चनजङ्घा बेसक्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङमा भारतलगायत तेस्रो मुलुकका सयौँ पर्यटक आवतजावत गर्दै आएका छन ।

दुर्लभ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको यो समय प्रजनन र यौन क्रियाकलापको समय भएकाले मानवीय क्रियाकलापमा प्रतिबन्ध लगाएको नेशनल पार्कले जनाएको छ ।

पार्कले सूचना टाँस गरी तुम्लिङ–फालोट क्षेत्रको ४२ किलोमिटरमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत नगर्न अनुरोध गरेको छ । त्यस्तैगरी सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वनमा पनि रेडपाण्डा पाइने भएकाले उक्त वन क्षेत्रमा पनि तीन महिनाका लागि आवतजावत बन्द गरिएको वन उपभोक्ता समूहका अध्यक्ष मानबहादुर तिवारीले बताए । पर्यटकको हल्लाले वन्यजन्तुको प्रजनन र यौन क्रियाकलापमा बाधा पुग्ने भएकाले तीन महिनासम्म आवतजावत बन्द गर्ने गरेको सीमा क्षेत्रका पर्यटन व्यवसायी बताउँछन् ।

“सधैँ पर्यटकको जमघट हुने सन्दकपुर सुनसान छ”, होटल व्यवसायी गुरूङले भने, “तीन महिनासम्म नेपाली पर्यटकीय क्षेत्र सुनसान हुनेछ ।” नेशनल पार्कले करिब १५ वर्षदेखि रेडपाण्डाको प्रजनन समयमा पर्यटक आवागमन बन्द गर्दै आएको उनले बताए । नेशनल पार्कले प्रत्येक वर्षको तीन महिनासम्म पर्यटक आवागमनमा रोक लगाउँदा समस्या पर्दै आएको होटल व्यवसायीको गुनासो छ ।

पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघमा, तुम्लिङ, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिखेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा भारत भएर सयौँ पर्यटक आउने गरेका छन् । कञ्चनजङ्घा, सगरमाथालगायतका हिमशृङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी, हिमाली जीवनशैलीलगायतको अवलोकन गर्न सकिने हुनाले सीमावर्ती नेपालीका साथै विदेशी पर्यटक आउने गरेका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार