संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच चुनाव अघि नै एकीकरण हुने

काठमाडाैं : उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ ।अहिले दुवै पार्टीले एकीकरणका लागि पुनः गृहकार्यमा लागेका छन् ।

दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा एउटै चिह्नमा चुनाव लडेका यी दुवै पार्टी आगामी असोज २ गते हुने स्थानीय तहको चुनावअघि नै एकीकरण हुने सो दलमा आबद्ध नेताहरूले बताएका छन्।

स्थानीय तहको चुनावमा अपेक्षाकृत परिणाम ल्याउन नसकेका दुवै पार्टीले एकीकरण गरेर नै जानुपर्ने निष्कर्ष निकालेको नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य रामकुमार शर्माले बताए।  उनले भने, ‘यी दुई पार्टी वैकल्पिक शक्ति हुन् ।  यी दुई दल मिले मात्र परिवर्तन सम्भव भएकाले एकीकरणका लागि गृहकार्य भइरहेको छ । ’

साउन ९ र १० गते नयाँ शक्ति पार्टीको र ११ र १२ गते फोरम नेपालको केन्द्रीय समितिको बैठक बस्न गइरहेको छ । एकीकरणको बारेमा त्यसले टुगों लगाउनेछ ।  सोही बैठकबाट एकीकरण कहिले गर्ने विषयमा निर्णय गर्ने नेता शर्माले बताए।  आइतबार मात्र सकिएको फोरम नेपालको राजनीतिक समितिको बैठकमा पनि दुई दलबीच एकीकरणको विषयमा छलफल भएको थियो ।
एकीकरणको कुरा धेरै दिनदेखि थाती रहेको हुनाले यसलाई चाँडै टुङ्गो लगाउनुपर्ने पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैठकमा राखेका थिए। नयाँ शक्ति नेपालबाहेक अन्य दलहरूसँग पनि एकीकरणको कुरा भइरहेको पनि बैठकमा उनले जानकारी दिए। राजनीतिक समितिका सदस्य विजय यादवले नयाँ शक्तिसँग धेरै पहिलादेखि एकीकरणको कुरा चलिरहेको र अब यसलाई कुनै टुङ्गो लगाउनुपर्ने बताए।

स्रोतका अनुसार नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले फोरम नेपालका अध्यक्ष यादवलाई अध्यक्ष स्वीकार गरिसकेका छन्, तर पार्टीलाई कुन प्रक्रियाबाट सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार