नयाँ बुलन्द
इलाम : पूर्व–सूचना प्रणालीअन्तर्गत इलाम र झापामा कन्काई नदी प्रभावित क्षेत्रका वासिन्दा र सुरक्षा निकायलाई मोबाइल र इन्टरनेटमार्फत नदीमा पानीको वहाबबारे जानकारी गराउन थालिएको छ ।
नेपाल टेलिकम र एनसेल प्रयोगकर्तालाई इन्टरनेटको माध्यमबाट नदीमा पानीको वहाबका विषयमा जानकारी गराउन थालिएको हो ।
इलामका ५ र झापाका ८ गाविस बाढीको जोखिममा पर्ने हुनाले त्यसबारे सर्वसाधारणलाई जानकारी गराउनका लागि सूचना बोर्डको स्थापना गरिने परियोजना संयोजक हरिशरण खड्काले जानकारी दिए । युएसए आइडी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापा र इलामको संयुक्त आयोजनामा गरिने कार्यक्रममा कनकाई नदीले क्षति गर्ने मुख्य ठाउँमा जानकारी गराउने उद्देश्य रहेको छ ।
जोखिम न्यूनीकरणका लागि कनकाई नदीमा राखिएको स्टेसनद्वारा सम्बन्धित जिल्लाका डिस्प्ले बोर्डमा जानकारी दिने र त्यहाँबाट सर्वसाधारण तथा अन्य सम्बन्धित व्यक्तिलाई मोबाइल र इन्टरनेटमा जानकारी गराइन्छ ।
खड्काका अनुसार सर्वसाधारणलाई जानकारी गराउनका लागि पूर्व–सूचना प्रणालीअन्तर्गत मोबाइलमा एसएमएस सेवा दिने र सुरक्षित स्थानमा लैजाने व्यवस्था गर्नेछ । खड्काले इलामको माईनगरपालिकाको मैनाचुलीमा एक बाढी सूचना केन्द्र रहेको र जिल्लाभर ६ अन्य मौसम अनुमान केन्द्र रहेको बताए ।
जिल्लामा ठूलो संकट आएको बेलामा एसएमएसमार्फत जानकारी दिने व्यवस्था मिलाएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकनाथ ढकालले जानकारी दिए ।