इलाममा हाइड्रोलोजिकल स्टेशन निर्माण गरिने

सुजता सुनुवार

इलाम : विपत जोखिम न्युनिकरणका लागि इलाममा पहिलो पटक हाइड्रोलोजिकल स्टेशन निर्माण गरिने भएको छ ।

नदीमा पानीको मात्रा वृद्धि भएसँगै इलाम पहिरोको जोखिममा पर्ने भएकाले जोखिम व्यवस्थापनका लागि हाइड्रोलोजिकल स्टेशन निर्माण गरिन लागिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका सभापति देवी गौतमले जानकारी दिए ।

इलाम पहिरोको जोखिम क्षेत्र मानिन्छ । इलामका चार नदीमा वर्षादका कारण पानीको मात्रा बढेसँगै जोखिम पनि उत्तिकै बढ्छ । जिल्लाका चार नदीहरु माइखोला, पुवाखोला, देउमाईखोला र जोगमाईखोलामा वर्षादको समयमा पानीको मात्रा बढी हुन्छ ।

जिल्लाका चार नगरपालिका, दुई गाउँपालिकाका सात स्थानमा हावापानी मापन केन्द्र र एक स्थानमा जलमापन केन्द्र राखिने भएको छ । माई नगरपालिकामा हावापानी र जल मापन केन्द्र राखिने र अन्य तीन नगरपालिका र दुई गाउँपालिकामा हावापानी मापन केन्द्र राखिने सभापति गौतमले जानकारी दिए ।

महमाईस्थित मैनाचुलीमा जलमापन केन्द्र, रोङ्ग गाउँपालिकाको बरफल्याङ्गमा हावापानी मापन केन्द्रका लागि हाइड्रोलोजिकल स्टेशन निर्माण गरिने भएको छ ।

माई नगरपालिकाको सोक्तिम, इलाम नगरपालिकाको लवडाँडा, देऊमाई नगरपालिकाको जितपुर, सुर्योदय नगरपालिकाको कन्याम, फाकफोकथुम गाउँपालिकाको चमैतास्थित मैदाने र सन्दकपुर गाउँपालिकाको माइपोखरीमा एकएक वटा हावापानी मापन केन्द्र यस अघि नै निर्माण गरि सकिएको छ ।

जिल्लामा भएका आठ ओटा मापन केन्द्रले पानीको सतहकाबारेमा सामान्य जानकारी दिने, चेतावनी दिने, जोखिम बढ्यो वस्ती छोड्नुस्, र पुन सामान्य भयो अब घर फर्कनुस् जस्ता पक्षमा सचेत गराउन प्रत्येकको मोवाइलमा म्यासेज जाने बताइएको छ ।

पानीको सतह ३ दशमलव ५ पुगेदेखि जानकारी दिने, ४ दशमलव २ पुग्दा चेतावनी दिने र पुनः सतह कम हुँदा जोखिम छैन घर फर्कनुस् भन्ने सन्देश दिने नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाका सभापति लोकराज ढकालले जानकारी दिए । यस्ता सुचनाले विपत जोखिम न्युनिकरणमा टेवा पुग्ने भएकाले इलामका जोखिम क्षेत्र मानिएका स्थानमा मापन केन्द्र राखिने भएको हो ।

अमेरिकी अन्र्तराष्ट्रिय सस्था प्राक्टिकल एक्सन र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखा र इलाम शाखाको आर्थिक सहयोगमा निर्माण गरिने झापा शाखाका सभापति ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार