काठमाडाैं : नारायण संग्रौलाको ‘पल्लो किरातको किपट व्यवस्था’ पुस्तक पढेपछि मात्र अनामनगरमा कस्मेटिक पसल चलाएर बस्ने हर्क योङहाङलाई लाग्यो, आफ्नो पुर्खाबारे आफैँले खोज्नुपर्छ।
खोज्दै जाँदा पत्ता लाग्यो, लिम्बुवानका अन्तिम राजा हाङ हिलिहाङ (वि. सं. १८१४–१८४४) आफ्नै पुर्खा पो रहेछन् र लेखक चाहिँ २९औँ पुस्ताका। त्यसपछि सुरु भयो, लिम्बुवानका सबैभन्दा शक्तिशाली र अन्तिम राजाबारे खोज्ने अर्थात् उनका बारेमा जानकारी लिने कार्य।
त्यसका लागि उनले धेरै अध्ययन गरे र नयाँ–नयाँ कुरा पत्ता लगाउँदै गए, रोचकता मात्रै बढेन, गौरवशाली अनुभूति पनि गर्दै गए।
लिम्बुवान र किरातसम्बन्धी विभिन्न पुस्तक अध्ययन मात्रै गरेनन्, पुस्तकालयमा गई अध्ययन र खोजबिनदेखि स्थलगत अध्ययन गरेपछि लिम्बुवानको अन्तिम राजा हिलिहाङका बारेमा थप जानकारी मात्रै पत्ता लगाएनन्, सो पत्ता लगाएपछि आफ्नो पुर्ख्यौली सान जोगाउनका लागि उनी लागिपरे, परिरहेका छन्। एउटा लिम्बुवानका अन्तिम राजा हाङ हिलिहाङको बारेमा जानकारी दिने र अर्को भौतिक संरचना खडा गरेर सबैलाई चिनाउने अर्थात् देखाउने।
सुरुको एक्लो मेहनतपछि पाँचथर जिल्लाको तत्कालीन पञ्चमी गाविसमा रहेको हिलिहाङ दरबारको भग्नावशेषलाई उत्खनन समेत गराई प्रमाणित गराए। यो नै लिम्बुवान साम्राज्य र इतिहासको खोजीको हकमा पुरातŒव विभागले हात हालेको पहिलो र अन्तिम प्रयास भयो।
‘त्यसअघि लिम्बुवानका दरबार तथा अन्य संरचनाको हकमा पुराताŒिवक विभागले काम गरेको रहेनछ, मैले पछि प्रयास गरेपछि त्यहाँ उत्खनन कार्य सुरु भयो,’ योङहाङ नागरिकसँग गर्वका साथ भन्छन्, ‘लिम्बुवान साम्राज्यको अन्त्य भएको दुई सय ४५ वर्षपछि नेपाल सरकारले पहिलोपटक सम्बोधन गरेको घटनाको रूपमा पनि इतिहास कायम गर्यो।’
हालको हिलिहाङ गाउँपालिका– ४ पञ्चमीमा हिलिहाङ राजाको दरबारमा ०७१ सालबाट उत्खनन गरी जीर्णाेदार गर्ने मात्रै काम भएन, सो दरबारमा पुग्न सजिलो होस् भनेर ग्राबेल सडक बाटो, खानेपानी, पार्किङ र तारबारसमेत गरी सुरक्षित भयो। ०७१ सालदेखि नियमित बजेट जान थालेपछि फुटबल ग्राउन्ड पनि बनिसकेको छ, अब लिम्बुवान झल्कने कलात्मक प्रवेशद्वार ०७४ भित्रै बन्दै छ। ‘त्यहाँ अब राजा हाङ हिलिहाङको सालिक पनि ठडिँदै छ, राजाको तस्बिर वरिष्ठ कलाकार हरि नेपालीले बनाइदिनुभयो,’ उनी भन्छन्। सुरुमा एक्लै भए पनि अहिले पुर्खाप्रति चासो राख्दै आउने क्रम बढेपछि योङहाङ पनि प्रशन्न भएका छन्।
हुन त डा. हड्सनले संकलन गरेको पाण्डुलिपिको भोल्युम– ८४ को २४४ पृष्ठमा अन्तिम राजा हिलिहाङका बारेमा यस्तो लेखिएको पत्ता लगाए– हाङ हिलिहाङ ज्यादै प्रतापी राजा थिए, वरवर परपर सबै सबै उनीसँग डराउँथे, उनको नाम हिलिहाङ नै हो।’ यति वाक्यबाट उनको खोजी कार्य सुरु भयो, त्यसपछिको काम गर्नका लागि हिलिहाङ फाउन्डेसन स्थापना गरे, जसको उनी स्वयं संस्थापक अध्यक्ष पनि हुन्। आफ्नो पुर्खा र लिम्बुवानबारे जानकारी दिन ‘नेपालको इतिहासमा हिलिहाङ’ भन्ने पुस्तक पनि सार्वजनिक गरे। सो पुस्तकमा प्रमाण जुटाइदिएर उनले आगामी पुस्तालाई उपहार पनि दिइसकेका छन्।
‘धेरैले लिम्बुवान के थियो र के हो भनी जानकारीमा नै नलिई लिम्बुवान राज्य माग्नतिर लागे, म भने आफ्नो पुर्खाको इतिहास खोज्नतिर लागेँ, केही हदमा सफल पनि भइयो,’ सोही पसलमा बसेर सम्झन्छन्। हुन त लिम्बुवानभरि धेरै राजा–रजौटा थिए, थुमथुम र टाकुरापिच्छे नै राजा कहलिएका थिए, कोही त टोलमा मात्रै सीमित थिए तर हिलिहाङ भने शक्तिशाली राजाको हुनुको कारण केही थिए। उनको क्षेत्रफल ठूलो त थियो नै, त्यसमाथि अन्य राज्यसँग उनको दौत्य सम्बन्ध पनि थियो।
जस्तो कि, हिलिहाङ दरबारको पारिवारिक सम्बन्ध तत्कालीन सिक्किमका राजा नाम्ग्यालसँग थियो। उनकी कान्छी रानी थुङ्वा मुक्मा योङहाङ हिलिहाङकी फुपू थिइन्। उनै कान्छी रानीका लागि ‘सुहिम’ भन्ने भव्य दरबार बनाइदिएका थिए, राजा नाम्ग्यालले। जसअनुसार ‘सु भनेको नयाँ र हिम भनेको दरबार हो, त्यतिबेला त्यो दरबार त्यो क्षेत्रकै भव्य मानिन्थ्यो, त्यही दरबारको नाममा सिक्किम नामाकरण भएको भनिन्छ, मानिन्छ। ‘सुहिम सुहिम भन्दै सुख्खिम रहन गयो, त्यो पनि अपभ्रंश भएर आजको सिक्किम नामाकरण भएको देखिन्छ,’ योङहाङ भन्छन्। उनको दाबी छ, सिक्किम नामाकरण लिम्बुवानसँग नै जोडिएको छ।
त्यति मात्रै होइन, यसअघिको नेपाल सरकार (तत्कालीन श्री ५ को सरकार) को शाही छापमा पनि लिम्बुवान र तत्कालीन गोर्खा साम्राज्य झल्काउने चित्र अंकित रहेको पनि उनले पत्ता लगाए। ‘सरकारको यसअघिको निसान छापमा अरुण नदीलाई बीचमा राखेर वारि गोर्खाली सैनिक र पारि लिम्बुवान सैनिक झल्काइएको छ, यसले पनि लिम्बुवान कत्तिको महŒवपूर्ण थियो भन्ने देखाउँछ,’ उनी भन्छन्। धनुसकाँडसहित टाउकोमा फेटा गुथेको लिम्बु सैनिकको तस्बिर राखेर संयुक्त पहिचान झल्कने निसान छाप बनाएपछि मात्रै गोर्खाली र लिम्बुवान एक भएको हुन सक्ने उनको ठम्याइ छ।
हुन त विभिन्न थुम र टाकुरामा छिन्नभिन्न भएर बसेका लिम्बुवानलाई नियन्त्रणमा लिनलाई तत्कालीन गोर्खाली राजा पृथ्वीनारायण शाहलाई समस्या त परेन। ‘वि.सं. १८३१ मा लिम्बुवानसँग भएको भनिएका सम्झौतापत्र पाइएका छन् तर त्यसमा पृथ्वीनारायण शाहको मात्रै हस्ताक्षर भेटिन्छन्, लिम्बुवानहरूको तर्फबाट भने हस्ताक्षर गरेको भेटिन्न, सायद लिम्बुले स्वीकार गरेनन्,’ योङहाङ भन्छन्, ‘त्यसपछि त्यहाँ धेरै युद्ध भएको देखिन्छ, आक्रमण गरिएको १३–१४ वर्षपछि १८४४ पछि मात्रै गोर्खाली र लिम्बुवानबीचको युद्ध अन्त्य भएको छ।’
पृथ्वीनारायण शाहको देहावसान र काठमाडौंमा भाउजू राजेन्द्र राज्यलक्ष्मीदेवी शाह र देवर बहादुर शाहका कारण पनि जुन ‘स्पिरिट’मा एकीकरण प्रक्रिया अघि बढ्नुपर्ने थियो, त्यो रोकिन पुग्यो, यद्यपि लडाइँ भने जारी नै थियो। हुन त गोर्खाली सेनाको अत्याचार सहन नसकेर धेरै लिम्बु बर्मा, भुटान, नागाल्यान्ड, थाइल्यान्ड, मलेसियासम्म पुगेका भेटिन्छन्।
लिम्बुवानको अन्त्य सम्झौताबाट भन्दा राजाको मृत्युबाट भएको भन्ने उनको दाबी छ। राजा हिलिहाङ फुपू भेट्न सिक्किम गएका थिए, फर्किंदा बाटैमा गोर्खाली सेनाबाट एक्कासि आक्रमण भयो। त्यसबेलासम्म हिलिहाङ स्वयं पनि सिक्किम राजाबाट पनि अविश्वासिला भइसकेका थिए। कारण, लिम्बुवानतिर पनि, गोर्खाली सेनासँग पनि सम्झौता भइरहेका थिए, हिलिहाङले पनि सम्झौता गरेर आएका होलान् भन्ने बुझाइ सिक्किमी राजाको भयो।
फर्किंदा गोर्खाली सेनासँग सिक्किम आसपासमा लडाइँ भएपछि सिक्किमका राजालाई लाग्यो– सिक्किममा आक्रमण गराउन भदा सालोले गोर्खाली सेना लिएर आयो, नत्र गोर्खाली सेना लिम्बुवान नाघेर किन सिक्किमसम्म आइपुग्थे? यसै अविश्वासका कारण तीन समूहबीच एकआपसमा सिक्किमकै हि खोलानजिक भीषण युद्ध भयो, अन्ततः सात दिन लडेपछि राजा हिलिहाङको पनि निधन भयो।
‘उनको शिर छेदन गरेर सिक्किम आसपासका कुनै गुम्बामा सुनले बेरेर राखिएको भन्ने जनबोलीमा आएका छन्, थप खोज्दै छु,’ योङहाङ भन्छन्। हुन त गोर्खाली सेनासँग लड्न सिक्किमबाट हिलिहाङले फुपूमार्फत सहायता लिएका थिए तर १८४४ को अन्तिम युद्धमा साथ नपाएपछि उनको देहावसान भयो।
पुर्खालाई खोज्दै र तीनको ऐतिहासिक प्रमाण सुरक्षित गर्दै आएका योङहाङले अझै पनि नयाँ–नयाँ कुरा खोजी गर्दै छन्। ‘पहिला गोर्खाली साम्राज्यको झन्डा एउटा मात्रै तीनकुने थियो, त्यस्तै तीनकुने झन्डा लिम्बुवानको पनि थियो, एकीकरण भएपछि दुईवटा तीनकुने झन्डा बनाएर एकीकरणको सन्देश त दिएका होइनन्?’ विगतको एउटा सामान्य मान्छे योङहाङको दिमागमा आजकाल यही कुरा नै बढी खेलिरहेको छ ।
नागरिकबाट