नयाँ बुलन्द
इलाम : सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम इलाममा सुरु भएको छ ।
जिल्ला समन्वय समिति इलामको आर्थिक सहयोगमा मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा तालिम सुरु भएको हो । इलाम नगरपालिकाको सामुदायिक मेलमिलाप समितिका पदाधिकारी र सदस्यहरुका लागि आयोजना गरिएको तालिममा १८ मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।
तालिमका सहभागीहरुलाई मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवे, सचिव एवं कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा, सहजकर्ता योगराज सापकोटा लगायतले सहजीकरण गरिहेका छन् ।
स्थानीय स्तरमा हुने विवादहरुलाई स्थानीय स्तरमै विवासदित पक्षहरुको सहमतिमा मेलमिलाप गराई विवादलाई दीगो समाधान गर्ने उदेश्यले तालिमको आयोजना गरिएको जिल्ला समन्वय समिति इलामका समाजिक विकास अधिकृत रामकुमार लिम्बू (योङहाङ) ले जानकारी दिए ।
मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा सामाजिक विकास अधिकृत योङहाङले कार्यक्रमको औचित्यसहित स्वागत गरेका थिए । मञ्चका कार्यक्रम निर्देशक देवेन्द्र विश्वकर्माले सामुदायिक मेलमिलाप र यसको प्रभावको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन रुद्र थेवेले गरेका थिए ।