चेतन अाङथुपाे
चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले वडा अध्यक्षको अधिकार दुरूपयोग गरेको भन्दै गाउँपालिका राजनैतिक गठबन्धन दलहरूले प्रेष विज्ञप्ति सार्वजनिक गरि गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
प्रेष विज्ञप्तिमा उल्लेख्य गरे अनुसार,गाउँसभाको सदस्यका लागि अल्पसंख्यक जातिलाइ सूचिकृत गरेकाे ठाउँमा दुई व्यक्ति वडा नम्बर १ का मुलुकसिंह राई र वडा नम्बर ३ का रामप्रसाद राई नागरिकतामा नाम रहेकाे व्यक्तिलाई अध्यक्ष प्रदिप चन्द्र राईले यी दुवै वान्तवा राई हुन भनी वडा अध्यक्षको अधिकारमाथि हस्तक्षेप गर्दै अाफैले प्रमाणित गरिदिएको भन्दै आन्दोलनरत दलहरूले आपत्ति जनाएका छन्।
राजेन्द्र केरूङकाे संयाेजकत्वमा १५ सदस्य संख्यामा रहेकाे गठबन्धन दलहरूले विज्ञप्तिमा अल्प संख्यक जाति भनेकाे काे हाे ? अल्प जातिलाई सम्वाेधन भयाे कि भएन त? निर्वाचित अध्यक्षले बुझ्नु पर्ने उल्लेख गरेका छन । समस्याको प्रष्टिकरण नअाउन्जेल सम्म गाउँ पालिकामा क्षेतिहुन गएमा अध्यक्ष राईले समम्पूर्ण जिम्मेवारी व्यहाेर्नु पर्ने विज्ञप्तिमा उल्लेख्य गरिएको छ ।
दलगत स्वार्थमा फसेर वडा अध्यक्षको अधिकार हस्तक्षेप गर्दै दुई व्यक्तिलाई अल्पसंख्यक वान्तवा हुन भन्दै प्रमाणित गरेको वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष नरबहादुर लावतीले भने,‘अध्यक्षज्यू दलगत स्वार्थमा फस्नुभयो, उहाँले जसलाई सिफारिस गर्नुभयो, उहाँहरू एमालेकै कार्यकर्ता हुनुहुन्छ’, उनले भने, ‘हामीले पाएको अधिकारसमेत हस्तक्षेप भएको छ।’ गाउँपालिका निर्वाचित अध्यक्ष भन्छन, “आफूले कुनै स्वार्थविना नै सिफारिस गरेको बताए। उनले भने, ‘मैले ठूलो केही गल्ती गरेको छैन, उहाँहरू आफू अल्पसंख्यक वान्तवाको सिफारिस लिन आएको भन्नुभयो मैले दिएँ।’
प्रमाणविना दिएको भन्ने अरू दलहरूको आरोपप्रति जिज्ञासा राख्दा उनले भने, ‘उहाँहरूको नागरिकतामा राई मात्र रहेछ, मुलुकसिंह र रामप्रसादजीले सधैँ मसँग वान्तवा भाषा बोल्नुहुन्थ्यो, त्यसैले मैले प्रमाणित गरिदिएँ।’ आन्दोलन संघर्ष समितिका संयोजक राजेन्द्र केरुङले शपथ ग्रहण गरेको एक हप्ता पनि नबित्दै अध्यक्ष राईले यस्तो हर्कत गर्नु लज्जास्पद रहेको बताए।
‘कार्यभार सम्हालेको एक हप्ता बितेको छैन, उहाँ दलगत स्वार्थमा फस्नुभयो’, उनले भने, ‘उहाँले जनताको मतलाई बिर्सनुभयो। अल्पसंख्यक समुदायको हो भन्ने कुनै प्रमाणविना नै उहाँले सिफारिस गर्नुभएको छ, यो हामीलाई मान्य हुँदैन।’ यहाँ अल्पसंख्यक धेरै भएको पनि उनले बताए। कुमाल, धिमाललगायतका जाति पनि यहीँ छन्। अल्पसंख्यक उम्मेदवारको मनोनयनमा मनोमानी गरी राईले राजनीतिक सहमतिविपरीत निरंकुश शासनको बीज रोपेर आफ्नो पकडको मान्छेलाई मनोनयन गर्न खोजेको केरुङले आरोप लगाए ।
यता, गाउँपालिका अध्यक्ष राईले भने आफूले आफ्नो अधिकारका बारेमा अध्ययन नगरेकाले यो दुर्घटना भएको बताए। उनले भने, ‘मैले मेरो अधिकार र कर्तव्यका विषयमा राम्रो अध्ययन गरेको रहेनछु, अब राम्ररी अध्ययन गर्छु।” आन्दोलनरत कांग्रेस, माओवादी केन्द्र, संघीय लिम्बुवान राष्ट्रिय मञ्च, संघीय समाजवादी फोरम, खम्बुवान राष्ट्रिय मुक्ति मोर्चालगायत पाँच दलले आन्दोलन संघर्ष समिति नै गठन गरेर गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन्।
ताला लगाएसँगै गाउँपालिकाको सम्पूर्ण काम कार्य अाजबाटै ठप्प गरिएको प्रेष विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त विषयमा सहमति जुट्न नसक्दा दिउँसो एमाले र अन्य आन्दोलनरत दलका कार्यकर्ताबीच घम्साघम्सी पनि भएको थियो।