क्षयरोग नियन्त्रण कार्यक्रम थालेको ६६ वर्षपछि सरकारले आफैँ औषधि किन्दै

काठमाडौं : नेपाल सरकारले पहिलो पटक क्षयरोगका बिरामीले प्रयोग गर्ने औषधि किन्ने भएको छ। क्षयरोग नियन्त्रण कार्यक्रम सुरु भएको ६६ वर्षपछि सरकारले आफ्नै खर्चमा औषधि किन्न लागेको हो।

यसअघि क्षरोगका बिरामीका लागि दाताले औषधि खरिद गरेर उपलब्ध गराउँदै आएका थिए। सरकारले औषधि खरिदका लागि करिब १२ करोड रुपैयाँ विनियोजन गरेको छ। तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पहलमा सरकारले पहिलो पटक क्षयरोगको औषधि खरिद गर्न लागेको हो।

‘अब सरकार क्षयरोगको उपचारका लागि आत्मनिर्भर भएको छ,’ राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरका योजना, अनुगमन तथा मूल्याङकन शाखा प्रमुख अनिल थापाले भने, ‘करिब ३२ हजार ५ सय बिरामीले क्षयरोगको औषधि सेवन गरिरहेका छन्।’

सरकारले क्षयरोग नियन्त्रण कार्यक्रम अन्तगर्त सन् १९५१ मा पहिलो पटक टोखामा क्षयरोग बिरामीका लागि उपचार र परीक्षणका लागि सेन्ट्रल चेस्ट क्लिनिक सुरु गरेको थियो। त्यसपछि सन् १९६५ मा विश्व स्वास्थ्य संगठन र युनिसेफको सहयोगमा क्षयरोग नियन्त्रणका लागि राष्ट्रिय रुपमा बिसिजी खोप कार्यक्रम, क्षयरोग परीक्षण र औषधि खुवाउने कार्यक्रम सुरु भयो। सन् १९९६ बाट सरकारले क्षयरोगका बिरामीका लागि डट्स कार्यक्रम, सन् २००६ बाट क्षयरोय रोक्न रणनीति र सन् २०१६ बाट ‘इन्ड टिबी’ कार्यक्रम सुरु गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार