इलाम नगरपालिकाको प्रमुखमा एमालेका महेश बस्नेत विजयी

नयाँ बुलन्द

इलाम : इलामको पुरानो नगरापालिका इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

जिल्लाकाे महत्वपूर्ण मानिने सदरमुकाम समेत रहेको इलाम नगरपालिकाको प्रमुखमा एमालेका महेश बस्नेत र उपमेयरमा शुशिला नेम्बाङ विजयी भएका छन् । २०५४ सालको स्थानीय निकायको चुनावमा पनि यो नगरमा एमालेले विजयी झण्डा फराएको थियो ।

विगतको विरासतलाई एमालेले यसपटक पनि जोगाएको हो । बस्नेत ११०३३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हिमालय कर्माचार्यले ९२६८ मत प्राप्त गरे । २०५४ को स्थानीय निर्वाचनमा पनि बस्नेतले कर्माचार्यलाई नै इलाम नगरपालिकाको मेयरमा  ७३ मतले पराजित गरेका थिए ।

बस्नेत नेकपा एमालेका जिल्ला कमिटि सचिव हुन् । कर्माचार्य नेपाली कांग्रेसका जिल्ला सभापति हुन् । कर्माचार्य २०७० को दोश्रो संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रभानमन्त्री झलनाथ खनालसँग पराजित भएका थिए ।

नगरपालिकाको उपप्रमुखमा पनि एमालेकै शुशिला नेम्बाङ विजयी भएकी छिन् । नेम्बाङ १०९६४ मत प्राप्त गरी विजयी भएकी हुुन् । उनकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी चन्दा केसी कार्कीले ९२५४ मत प्राप्त गरिन् ।

त्यसैगरी १२ वटा वडामध्ये ६ वटामा नेकपा एमाले र ६ वटा नेपाली कांग्रेसले वडा जितेको छ । वडा नम्बर १, २, ५, ६, ९ र १० मा नेकपा एमालेले जितेको छ भने ३, ४, ७, ८, ११ र १२ मा नेपाली कांग्रेसले जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार