माङसेबुङ गाउँपालिकामा कांग्रेसका इदिङगो विजयी

नयाँ बुलन्द  

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार डिकेन्द्र इधिगो विजयी भएका छन् । औपचारिक घेषणा भने भइसकेककाे छैन ।

आफ्ना प्रतिष्पर्धी नेकपा एमालेका हेमन्त राईलाई ५९० मत अन्तरले पराजित गर्दै इधिगो अध्यक्षमा निर्वाचित भएका हुन् । गएराति सम्पन्न मत गणनाको परिणाम अनुसार इधिङ्गोले ३७५९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी राईले ३१६९ मात्र पाएका थिए ।

यो परिणामसँगै नेकपा एमालेको लालकिल्ला तोडिएको छ । यसअघिका सबै निर्वाचनमा एमालेले जितेको त्यस क्षेत्र एमालेको गड मानिएको थियो । माङसेबुङ नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको प्रभाव क्षेत्र मानिन्छ ।

साविको गजुरमुखी, इभाङ र बाँझो गाविस मिलाएर बनाईको माङसेबुङ गाउँपालिकामा २०५४ को स्थानीय निर्वाचनमा तीन वटै गाविस अध्यक्षमा नेकपा एमालेले जितेको थियो । यसपटकको निर्वाचनमा साविक बाँझो गाविसबाट २०५४ मा अध्यक्ष जितेका एमालेका किरण राई वडामै पछारिएका छन् । उनी वडा नम्बर ६ मा नेपाली कांगे्रसका प्रदिप राईसँग वडा अध्यक्षमा पराजित भए ।

त्यसैगरी गाउँपालिको उपाध्यक्षमा भने नेकपा एमालेले जित निकालेको छ । उपाध्यक्षमा एमालेका उम्मेद्वार सुनिता याङहाङ २९८१ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी संघीय समाजवादी फोरमका उम्मेद्वार विनोदकुमार नेम्बाङले २७७१ मत प्राप्त गरी दोश्रो स्थानमा चित्त बुझाए ।

वडा अध्यक्षमा समेत कांगेसले बहुमत जितेको छ । ६ वटा वडा रहेको माङसबेुङका ३ वटा वडा अध्यक्ष नेपाली कांगेसले जितेको छ । वडा नम्बर १ मा कांग्रसका भक्तराज लिम्बूको प्यानलै विजयी बनेकाे छ । भक्तराज लिम्बू (६०१ मत), महिला सदस्यमा कृष्णमाया कार्की (५७६ मत), दलित महिला सदस्यमा टीका लुहागुन (६२६ मत), खुल्ला सदस्यहरूमा ठगबहादुर श्रेष्ठ (५८९ मत) र पूर्णबहादुर नेपाल (५१८ मत) विजयी भएका हुन् ।

वडा नम्बर २ मा पुष्पराज कार्कीको नेतृत्वमा मिश्रित परिणाम अाएकाे छ । त्यहाँ काङ्ग्रेसले वडाध्यक्ष र दुई सदस्य तथा एमालेले दुई सदस्यमा विजय हासिल गरेका छन् । काङ्ग्रेसबाट वडाध्यक्षमा पुष्पराज कार्कीले ६७४ मत ल्याएर जितेका हुन् । काङ्ग्रेसका तर्फबाट महिला सदस्यमा राममाया सम्बाहाम्फे लिम्बू र दलित महिला सदस्यमा कमला पोर्तेल विजयी भएका छन् । यता एमालेबाट खुल्ला सदस्यहरुमा बलवीर लिम्बू र पूर्णबहादुर बस्नेत विजयी भएका छन् ।

वडा नम्बर ६ मा कांग्रेसका प्रदिप राईले अध्यक्षमा जितेको हो । अन्य चारै सदस्य एमालेले जितेकाे छ ।

यता माङ्सेबुङ ३ मा वडाध्यक्ष र तीनजना सदस्यमा नेकपा एमालेले विजय हासिल गरेको छ । एकजना खुल्ला सदस्यमा काङ्ग्रेस विजयी बनेको छ । एमालेका तर्फबाट वडाध्यक्षमा मैतराज राईले ६१५ मत ल्याएर विजयी भएका हुन् । एमालेबाटै महिला सदस्यमा संगीता राई र खुल्ला सदस्यमा कुलबहादुर लिम्बू विजयी भएका छन् । काङ्ग्रेसबाट खुल्ला सदस्यमा इन्द्रबहादुर लिम्बू विजयी भएका छन् ।

माङ्सेबुङ ४ मा सबै पदमा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । त्यहाँ एमालेबाट वडाध्यक्षमा अमृतबहादुर राई (२७९ मत), महिला सदस्यमा  विष्णुकुमारी लिम्बू (२९७), दलित महिला सदस्यमा गोमादेवी विक (२९१), खुल्ला सदस्य १ मा धनप्रसाद राई (३०८) र खुल्ला सदस्य २ मा सन्तकुमार कामी (२९१) विजयी भएका हुन् ।

यता वडा नम्बर ५ मा भने राष्टिय जनमुक्ति पार्टीका नरेन्द्र राईको प्यानलै विजयी भएको छ ।

नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राप्रपालगायतका दलले कुनै वडा जित्न सकनन् । संघीय समाजवादी फोरमले वडा नम्बर ५ मा दोश्रो र ४ मा तेश्रो स्थानमा मत प्राप्त गरेका थिए ।

सो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि नेपाली कांगे्रस र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो । वडामा भने एक आपसमा प्रतिष्पर्धी भएका थिए ।

माङसेबुङमा १०९६४ मतदातामध्ये ७९५५ मत खसेको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार