नयाँ बुलन्द
माङसेबुङ : किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले माङसेबुङ गाउँपालिका वडा नम्बर ५ स्थित श्री सरस्वती उच्च मावि केन्द्रमा मतदान गर्नु भएको छ ।
अङसीमाङले बिहान ८ बजेर १३ मिनेटमा मतदान गरि उद्घाटन गर्नु भयो भने,वहाँसँगै किरातधर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनले पनि मतदान गर्नुभएको थियो । यसरी नै पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनालले इलामको सूर्याेदय नगरपालिकाको राष्ट्रिय आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ भने पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ र नेपाली काँग्रेसका नेता केबी गुरुङले इलामको बालमन्दिर आधारभूत विद्यालयबाट मतदान गरेका थिए ।
इलामको अधिकांश स्थानहरुमा मतदान सुरु हुने समयमा लगातार पानी परे पनि दिउँसो मौसम सुधार भएपछि सबै मतदाताले उत्साहका साथ मतदान गरेका थिए । स्थानीय तहको निर्वाचन अन्र्तगत इलाममा ४ वटा नगरपालिका, ६ वटा गाउपालिकामा १४४ वटा मतदान स्थलका र २४९ मतदान केन्द्रमा मतदान भएको थियो ।
माङसेबुङ गाउपालिकाको वडा नम्बर १ मा २ हजार १ सय ३९ मतदाता रहेकोमा १ हजार ५ सय ४७ ले मतदान गरेका छन् । २ नम्बरमा २ हजार २ सय ३६ मतदातामा १ हजार ६ सय ४२ ले मत खसाले भने, ३ नम्बरमा २ हजार ३ सय १३ मतदातामध्ये १ हजार ६ सय ४१ जनाले मतदान गरेका छन् ।
यसरी नै वडा नम्बर ४ मा १ हजार १ सय २० मध्ये ७ सय ७५ ले मतदान गरे भने ५ नम्बरमा १ हजार ६ सय ७८ जना मतदाता मध्ये १ हजार २ सय १४ जनाले मत खसालेका छन् । भने, वडा नं ६ मा १ हजार ६ सय ३१ मध्ये १ हजार १ सय १८ जनाले मतदान गरेका छन् । माङसेबुङ गाउपालिकामा यस पटकको स्थानीय तहमा कूल मतदाता ११ हजार १ सय १७ मध्ये ७ हजार ९ सय ३७ ले मतदान गरेको छ ।
यसरी माङसेबुङमा ७१.४० प्रतिशतले मतदान गरेका हुन । इलामको माङसेबुङ गाउँपालिकामा काँग्रेस र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनले बाजी मार्ने आँकलन गरिएको छ ।