मुग्लिनको अवरुद्ध सडक १८ घण्टापछि सञ्चालनमा, वेपत्ता प्रहरी अझै भेटिएनन्

चितवन : विहीबार राती एक्कासी खसेको पहिरोले अवरुद्ध भएको मुग्लिन सडक झण्डै १८ घण्टापछि सञ्चालनमा आएको छ । इच्छाकामना गाँउपालिका ६ कालिखोलास्थित मुग्लिन–नारायणगढ सडकखण्डमा विहीबार राती राति साढे ११ बजेतिर पहिरो खसेको थियो । पाहिरोमा चितवन प्रहरीको भ्यान र एउटा ट्रक समेत परेको थियो । पहिरोले गाडी पुरिदा दुई प्रहरीको शव फेला परे पनि दुई जना प्रहरीसहित प्रहरी भ्यानसमेत नभेटिएको चितवन प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए ।

राति करीव साढे ११ बजे ना.१ झ १३९० नम्बरको प्रहरीको स्कारपियो गाडी पहिरोमा परेको थियो । शुक्रबार विहानदेखि दिनभरीको प्रयासपछि पनि प्रहरी भ्यान र दुई प्रहरी नभेटिएपछि राती भएकाले खोजी कार्य स्थगित गरिएको एसपी श्रेष्ठले बताए । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नरबहादुर रावतको कमाण्डको टोली उद्धारमा खटिएको थियो ।

सडकभन्दा करीव ५० मिटर माथिबाट अलिअलि पहिरो खसेको वेला त्यसठाँउबाट अगाडि बढेको उक्त गाडी एक्कासी ठूलो पहिरो खसेपछि पहिरोमा परेको थियो । त्यसवेला पहिरोले पुरै बाटो छोपिएको थियो । उद्दार टोलीले     प्रहरी गाडीमा सवार दुई जनाको शव फेला पारेको थियो भने दुर्घटनाग्रस्त ना. ५ ख ७८२७ नम्बरको ट्रकबाट ट्रक चालक र सहचालकलाई उद्धार गरिएको थियो । ट्रकबाट उद्धार गरिएका दुवै जनाको उपचारपछि डिस्चार्ज भइसकेको पनि एसपी श्रेष्ठले रातोपाटीलाई बताए ।

पहिरोले सडक पुरिएपछि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारको एउटा स्काइभेटर तथा अर्को एउटा स्काइभेटर र एउटा डोजर पहिरो पन्छाउने कार्यमा परिचालन गरिएको थियो । शुक्रबार बेलुका साढे ६ बजेदेखि अबरुद्ध सडक दुई तर्फी नै सूचारु भएको एसपी श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार