मुख्य सिजनमै भारतमा बन्द भएकाले किसान मारमा

 

सुजता सुनुवार

इलाम : भारतको दार्जिलिङ सहितका क्षेत्रमा ‘गोर्खाल्यान्ड’ को मागमा आन्दोलन चर्किएपछि त्यसको प्रत्यक्ष असर नेपालका पूर्वी दर्जनौं बजारहरूमा देखिएका छन् । आन्दोलनले इलामका पशुपतिनगर, श्रीअन्तु, समालबुङ, लगायतका बजारमा असर परेको छ ।

दार्जिलिङ, मिरिक, कालिम्पोङ, खर्साङ लगायतका क्षेत्रमा भएको आमहड्तालले सीमावर्ती नेपाली बजारको व्यापार ठप्प भएको हो । दिनहूँ १५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने पशुपतिनगर बजार अहिले ठप्प छ ।

बन्द–हड्ताल नहुँदा पशुपतिनगर नाका भएर दिनमा ३ ट्रकसम्म तरकारी भारत जाने गरेको थियो । ‘गोर्खाल्यान्ड’को मागमा आन्दोलन चर्किएपछि  भएको भारत बन्दले  किसान समेत यसको मारमा परेका छन् । तरकारी बेच्ने मुख्य सिजनमै दार्जिलिङ्ग बन्द भएकाले बारीमै तरकारी कुहिन थालेको पशुपतिनगरका किसान दावा तामाङले बताए ।

दैनिक ३० हजार रुपैयाँसम्म राजस्व संकलन हुने भन्सारमा अहिले राजस्व समेत शून्य भएको छ । बन्द भारतको भएपनि त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी पशुपतिनगरमा देखिएको पशुपतिनगर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राईले बताए । दार्जिलिङबाट समूह–समूहमा आउने पर्यटकले यहाँबाट लुगाकपडा, खाद्यान्न र अन्य सामग्री किनेर लैजाने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार