बजार उन्नतिसँगै घुर्बिसेमा स्वच्छ पिउने पानीको अभाव

युद्धबहादुर बोहोरा

इलाम : जलस्रोतको धनी देश मध्येमा नेपाल दोस्रो स्थानमा पर्दछ।विडम्वना,यहि देशका जनतालाई शुद्ध पिउने पानीको चरम अभाव हुनु दुर्भाग्यपूर्ण हो।यस्तै कठिनाई भोग्दै आइरहेका छन् घुर्बिसे पन्चमी बासीहरु ।

इलाम फाकफोकथुम र पाँचथर फाल्गुनन्द गाउँपालिकाको संगम स्थालमा यो बजार अवस्थित छ । जुन मेची राजमार्गको राँके बजार  देखि राँके-भेडेटार सडक खण्ड अन्तर्गत ९ किलोमिटर नजिकै पर्दछ । केही वर्ष अघि १७ किलोमिटर टाढा पाँचथर पौवा भञ्ज्याङ्ग माथिको मुहानबाट देउराली,  पुरानो पन्चमी, याम्बाबुङ्ग र घुर्बिसे पन्चमी बजारको लागि पानी संचालन हुदै आएको छ ।

डिभिजन कार्यलय खानेपानी संस्थान इलामबाट आयोजना  उपलब्ध भएको  हो।व्यवस्थित र नजिकै पानीको मुहान नपाईएको र चालु मुहान पनि कठिन संघर्षका बावजुत मिलेको महाभारत डाँडा खानेपानी तथा सरसफाइ उपभोक्त समितिका पुर्व अध्यक्ष डिएम आङ्देम्बे बताउँछन् ।

मुहान टाढा भएकोले पटक पटक पानी आउन बन्द हुन्छ।हिउँदमा सानो आउँछ भने बर्षातमा धमिलो भइ पिउन असम्भव भएको स्थानीयबासी कमला खड्का (निरोला) बताउँछिन् । धारामा आउने सानो पानी भर्नलाई विहान ४ बजे देखि कुर्दा मात्र एकपटक पालोमा थाप्न पाइने उनको गुनासो छ ।

होटल व्यावसायि र घर निर्माण गर्नेहरुको लागि भने झनै कठिन छ।बेलुका ११ बजे सम्म धारामा खाँचाखाच हुन्छ।पानीको विषय लिएर छिमेकी बीच एक-आपसमा मनमुटाव र झैंझगडा समेत हुने गर्दछ। यस बर्ष देखि पाँचथरको साविक रानिटार स्थित साधुटारको २० घरधुरीले समेत यसै मुहानबाट आधा भन्दा बढी पानी प्रयोग गर्दै आएकाले पानी आउने आसा झिनो छ । बजारको आकार सानो र घनत्व कम हुँदा स्थानीय स्रोतले धान्ने गर्दथ्यो । अहिले बजार विकसित हुदै नगरउन्मुखतर्फ रूपान्तरित हुन लागेको छ।फाल्गुनन्द गाउँपालिकाको केन्द्र यहाँ रहेको छ । पानीको लागि अझै ठुलो स्रोत अपरिहार्य छ ।

ग्रामीण क्षेत्रका ग्राहकहरु यस बजारमा ओहोरदोहोर भइ रहन्छन् । आकर्षक डिजाइनका पक्की घरहरु निर्माण हुने क्रम बढेको छ । हटियाको दिन भिडभाड र बाक्लो चाप देखिन्छ । खेलमैदान, प्रहरी चौकी, स्वास्थ चौकी, उच्च माध्यमिक विधालय, आयुर्वेदिक औषधालय, बोर्डिङ स्कुल, सहकारी संस्था, माइक्रो फाइनान्स , पोलिक्लिनिक,  मेडिकल र मनि ट्रान्सफरको सुविधा छ ।  

किराँत धर्मका इतिहाँसकार इमान सिं चेम्जोङ्गको शालिक लगायत विकासका पुर्वाधारहरु तिब्ररूपमा अघि बढी रहेका छन् । विधालय छुट्टी भएपछि तीन वटा प्राइभेट र एक सरकारी विधालयका विधार्थिहरुको लामो ताँतिले महाभारत डाँडा छपक्कै ढाक्ने गर्छ ।

यस बजारको सुरुवात भएको कहानी बारे बजारबासी ७१ बर्षिय श्रीनारायण भट्टराई (दाजै) भन्छन् “गाई वस्तुले खाने घाँसको बोटको नाम हो “घुर्बिस”। यही घुर्बिस भएको बाटो हुँदै बटुवा हिड्ने गर्दथे । बटुवाका लागि चिया नास्ता बेच्न बनाइएका साना सेउलाका टहरा बाटै यो बजारको उत्पत्ति भएको हो । आजभोलि यो कुरा गर्दा धेरैले पत्याउदैनन्।” दिनानुदिन बस्तीहरुको  विकासले फड्को मारे संगै बजार बढ्न थाल्यो र पन्चमी तिथिमा हटिया शुरु हुन गयो । यसर्थ, घुर्बिसे पन्चमी नाम रहन गएको हो । द्वन्द्वकाल पछि हरेक महिनाको १३ र २९ गते हटिया लाग्ने गर्दछ ।

लिम्बु संस्कृतिसँगै हुर्किएको यस बजारमा पहिले पालाम भन्ने र धान नाच्ने चलन थियो । अहिले बिरलै मात्रमा देखिन्छ । लोप हुदै गएको रितिरिवाजको जगेर्ना गर्नु पर्ने जिम्मा लिम्बू युवापिंडीको काँधमा रहेको बताउँछन् साविक फाक्तेप-४, निवासी मनकुमार चेम्जोङ्ग । पछिल्लो समयमा केलाङ नाच प्रति युवायुवती सक्रिय छन् ।

बजारमा स्थानीय उत्पादनहरु साग सब्जी, फलफूल, दाल चामल, घ्यू, अकबरे खोर्सानी, परेवा, कुखुरा, खसीबाख्रा किनवेच हुन्छ । सात सय भन्दा बढी सुँगुरपाठाहरु भारतको सिक्किम र दार्जिलिङ तर्फ ब्यापारीले लाने गरेका छन् । भैंसी, राँगा र सुँगुरको मासु समेत बिक्रि हुने गर्दछ । हटियामा खरिद बिक्रिको लागि पाँचथरका यासोक, आङ्साराङ, नवमी डाँडाका व्यापारी आउँछन् ।

त्यस्तै इलाम जिल्लाको  फिक्कल, मंगलबारे, इलाम बजार, राँके र रबिका मानिस जम्काभेट हुन्छन् । झापा दमकदेखि बाख्रा ब्यापारीहरु आउने गरेको बजार कर संकलनका ठेक्केदार दिलेन चेम्जोङ्गले जानकारी दिएका छन् । बजार आसपासका गाउँहरुमा अलैंची उत्पादन हुने हुँदा अलैंची संकलनको व्यापारीक केन्द्र समेत रहेको छ । केहि समय अधि १-२ सय मन जम्मा हुने अलैंची उत्पादनकम र भाउ बिक्रि न्यूनले गर्दा अहिले व्यापार संतोषजनक नभएको स्थानीय अलैंची व्यापारी राम रहपालको भनाइ छ ।

स्वर्गीय पदमसुन्दर लावतीको राजनीतिक जिवनको पृष्ठभुमिले चर्चित बनेको हो पाँचथर जिल्ला । यसै अन्तर्गतको तेस्रो ठुलो बजार घुर्बिसे पन्चमी हो  । यसको आधा क्षेत्र भने इलाम जिल्लाको भू-भागमा पर्दछ । यस बजारमा पनि अहिले राजनितीक माहोल तातिन्दै एक अर्कोमा होटवाजीका साथ स्थानीय निर्वाचनको प्रचार प्रसारले द्रुत गति लिएको छ ।

फाकफोकथुम र फाल्गुनन्द  गाउँपालिकाका नेपाली काँङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी, राप्रपा, लिम्बुवान मञ्च, लिम्बुवान पार्टी र जनमुक्ति पार्टी लगायतका दलहरु चुनावी मैदानमा छन् । केहि दलका केन्द्रिय स्तरीय नेतागणहरु समेत आफ्नो पार्टीका स्थानीय उम्मेदवारलाई विजय गराउने उदेश्यले कार्यक्रममा उपस्थित हुँदै आएका छन् ।

उम्मेदवारहरुले बजारको लागि खानेपानी,सडक,स्वास्थ्य शिक्षा र विधुत जस्ता कुरामा विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै भोट माग्ने गरेका छन्।हाल बजारको मुख्य आवश्यकता नै “स्वच्छ पिउने पानी” रहेको छ।पानी जीवन संग गाँसिएको एक महत्त्वपूर्ण विषयमा  सबैको ध्यान जान आवश्यक रहेको खानेपानी अध्यक्ष तथा बजार व्यवस्थापन समितिक पुर्व अध्यक्ष कृष्णबहादुर सम्बाहाम्फे लिम्बू बताउँछन् ।

स्थानीय स्रोतलाई संरक्षण गर्दै जाने र दीर्घकालीन पानीका नयाँ स्रोतहरुको खोजी र पहल कदमी भइ रहेको उनको भनाइ छ । आश्वासन,प्रतिबद्धता र विकास निर्माण गर्ने दावी अनुसारको एजेन्डालाई यथार्थमा परिणत गर्न सक्ने नेतृत्वको खाँचो रहेको बजारबासीको ठम्याई छ।पछिल्लो समयमा अन्य ठाँउबाट बजार भित्रीनेहरुको मोह बढेको छ । ८-१० बर्ष पहिला घुम्न आएका मानिसहरु अहिले बजार विस्तार भएको देख्दा आश्चर्य मान्ने गर्दछ्न् । पहाडी इलाकाको यस भू-भागलाई नजरअन्दाज गर्ने हो भने पानीको अवस्था त्यति चुनौती मानिन्दैन तर उचाईमा बजार र पानीका स्रोतहरु तल भएको हुँदा पानीलाई माथि ल्याउने प्राविधिक कठिनाइ छ ।

बेलैमा समाधानको विकल्प खोज्नु जरुरी देखिन्छ । त्यस्तै, पाँचथरको नमूना विधालयमा पर्ने घुर्बिसे उच्च माध्यमिक विधालयको केहि भवन जिर्ण अवस्थामा छ । नयाँ भवन निर्माण गर्दै प्लस टुलाई उन्नति गरि स्नातक तह, चार सय पूर्णाङ्कको सैद्धान्तिक र छ सय पूर्णाङ्कको व्यावसायिक धारको पठनपाठनको लागि विशेष पहल भइ रहेको छ । व्यवस्थित पुस्तकालय र राम्रो विषयको अध्यन यही गर्न पाउने व्यवस्था भइ रहेको स्थानीय बुद्धिजीवी तथा उच्च  माविका प्रधानध्यापक ठाकुर सिं थेगिमको भनाइ छ ।

आगामी दिनमा बजार सुदृढीकरणको लागि फोहोरको उचित व्यावस्थापन, विधुत प्रसारण निरन्तर गर्न सम्बन्धित निकायलाई खबरदारी आवश्यक छ । आगलागी नियन्त्रण तथा दैवी प्रकोप सम्बन्धि जनचेतना, सुरक्षाको थप व्यवस्था, सुविधायुक्त होटलहरु, सूचना, संचार र व्यवस्थित बधशालाको अभाव भएको उनी बताउँछ्न् । हिन्दु र किराँत धर्मको सहिष्णुता कायम गर्न एक शिवालय मन्दिर निर्माण गर्नु  पर्ने छ । बजार नजिकै रहेको नाम्तोक (सुर्योदय देखिने) डाँडामा भ्यूटावर निर्माणको अवधारणा रहेको र बाटोको ठाँउ ठाँउमा कर्टेज बनाउने योजना भएको उनले बताए ।

स्तरीय बैंक स्थापना तथा स्वास्थ शिक्षा र विकास निर्माणको लागि सबै एकजुट हुँदै एक अर्कोमा हातेमालोको भावना सहित अघि बढे बजारको आर्थिक समृद्धितर्फ छिटो पाइला बढ्ने स्थानीय व्यापारी लालबहादुर बोहोरा बताउँछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार