सुजता सुनुवार
इलाम : नेपालको संविधान २०७२ ले जारी गरेको समानताको हक १८ बमोजिम नै हरेक अपाङ्गता भएका व्यक्तिलाई पहुचयुक्त सेवासुविधा दिनुपर्ने राष्ट्रिय अपाङ्गता महासंघ केन्द्रिय सदस्य नविन ढुङ्गेलले बताएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनर्स्थापना कार्रयक्रम (सिविआर) अन्तरगत नवनिर्मित भौतिक संरचना अपाङ्गमैत्री बनाउने सम्बन्धमा इलाम सदरमुकाममा सम्पन्न भएको एक दिवसिय छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
हरेक कार्यालयमा राखिएका बोर्डमा अपाङ्गमैत्री भवन, शौचालय र बाटो लेखेर मात्र नहुने भन्दै उनले कार्यान्वयन गरेर अपाङ्गता भएका व्यक्तिलाई सेवासुविधा खोजिदिन आग्रह समेत गरे ।
इलाम नगरपालिकास्थित सरकारी कामकाजका लागी बनाइएका भवन, सडक र मठमन्दिर समेत अपाङ्गमैत्री नहुँदा शारीरिक रुपमा अशक्त भएकाहरुले सास्ती खेप्नु परिरहेको छ । ‘नेपाल आफैमा भूकम्पको जोखिम क्षेत्र मानिएकाले अब बन्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउनु पर्नेछ’ उनले भने, ‘जुन अपाङ्गता भएका व्यक्तिका लागि दयामुखि होइन अधिकारमुखि धारणाको विकास गर्ने आधार बन्छ ।’
यस्तै नेपाल नेत्रहीन संघ एकतप्पाका अध्यक्ष खगेन्द्र खनालले सरोकारवालाहरुमा समान बुझाईको अभाव भएकोले अपाङ्ग मैत्रीपूर्ण वातावरणको अभाव भएको गुनासो गरे । विगतका संचना भत्काउन सकिन्न तर अब बन्ने भवनहरु भने अपाङ्गमैत्री नै हुनुपर्ने समेत सुझाए ।
महिला विकास अधिकृत स्किम श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी इलाम जिल्लाका सभापति देवी गौतम, करुणा फाउण्डेसन नेपालका कार्यक्रम संयोजक अजित योञ्जन लगायतले बोलेका थिए ।
महिला तथा बालबालिका कार्यालय इलामको आर्थिक सहयोगमा इलाम नेत्रहिन संघ इलामको आयोजनामा भएको कार्यक्रम संघका अध्यक्ष पदम सुब्बाको अध्यक्षता तथा स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
संघकी ममता गुरागाईले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष भूपाल चौहानले स्वागत मन्तव्य राखेका थिए ।