‘सबै कामहरु हामी योजनाबद्ध रुपले गरिरहेका छौँ’ : अभिकेश्वर पोख्रेल

स्थानीय तहको दोश्रो चरणको निर्वाचन नजिकिँदै छ। निर्वाचन नजिकिँदै गर्दा चुनावी चहलपहल समेत बढेको छ । दोश्रो चरणको निर्वाचन फेरी पनि सर्छ कि भन्ने मतदाताको अन्योलता गत आइतवार भएको मनोनयन दर्ताले हटाइ दिएको छ । यही क्रममा हामीले सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव तथा माइजोगमाई गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालिरहनु भएका मुख्य निर्वाचन अधिकृत अभिकेश्वर पोख्रेलसँग निर्वाचन विशेष कुराकानी गरेका छौ । प्रस्तुत छ नयाँ बुलन्द कर्मी नरने इलामेलीले पोख्रेलसँग गरेको कुराकानीको अंश :

माइजोगमाई गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत अभिकेश्वर पोख्रेल

स्थानीय तहको दोश्रो चरणको निर्वाचन नजिकिँदै छ,मुख्य निर्वाचन अधिकृतको कार्यालयले कसरी तयारी गरिरहेको छ ?

हजुर, निर्वाचन नजिकिँदै छ । निर्वाचनको तयारी तीव्र रुपले अघि बढाएको छ । केन्द्रिय कार्यालयको कार्यक्रम अनुसार उम्मेद्वारी दर्ताको काम आइतवार नै सम्पन्न  भइसकेको छ । उम्मेदवारहरुको नामावली समेत प्रकाशन भइसकेको  भने अब उम्मेदवारी फिर्ता लिन इच्छुकले उम्मेदवारी फिर्ता लिने र चुनाव चिन्ह सहितको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम बाँकी । निर्वाचन सम्पन्न गरेर मतगणना सम्पन्न गर्ने सम्मका सबै कामहरु हामी योजनाबद्ध रुपले गरिरहेका छौँ ।

निर्वाचनलाई मर्यादित र निष्पक्ष रुपले सम्पन्न गराउन  तपाईहरुलाई केकस्ता चुनौतीहरु छन ?

 सामान्यतया यहाँ त्यस्तो कुनै किसिमको बाधा अवरोध रहेको देखिँदैन । सभ्य हिसाबले नै राजनैतिक दलहरुले पनि आफ्नो कार्यक्रम अघि बढाइरहेको देखिन्छ । मध्य वर्षाको समयमा निर्वाचन हुदैछ । यो पनि एउटा प्राकृतिक चुनौती हो । तर यसलाई पनि मतपत्र र मतपेटिकाको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्ने छौँ । अन्य कुनै अराजक गतिविधी हुने सम्भावना देखिँदैन।

आममतदाताले सुरक्षित र भयरहित भएर मतदान गर्न सक्ने अवस्था छ त ?

हाम्रो गाउँपालिकामा त्यसतो कुनै अप्ठ्यारो अवस्था देखिएको छैन । सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । त्यो हुँदा सुरक्षाको चिन्ता छैन सम्पुर्ण मतदाताहरु शान्तिपुर्ण तरिकाले मतदान गर्न इच्छुक रहेको देखिन्छ ।

मतपत्र एकदमै ठुलो छ । धेरै ठाउँमा मत संकेत गर्नुपर्ने व्यवस्था छ मतपत्र बदर हुने सम्भावना पनि बढि छ नि ?

मतदाता शिक्षाका लागि हामीले स्वयमसेवकहरु खटाएका छौँ। ती स्वयमसेवकहरुले निर्वाचन आयोगले तयार गरेका सामाग्रीहरु मार्फत मतदान कसरी गर्ने भन्ने बिषयमा बिभिन्न भाषामा प्रकाशित बुकलेट, पर्चा, पम्प्लेट जस्ता सानाग्रीहरु सम्बन्धित ठाउँमा पु्याएर मतदाता शिक्षा संचालन भइरहेको छ। त्यसमा पनि इलाम जिल्ला त शिक्षित जिल्ला हो । त्यसले गर्दा पनि त्यसतो अपठ्यारो पर्छ जस्तो लाग्दैन ।

मतदाता शिक्षा चाहीँ आम मतदातासम्म पुगेन र कर्मकाण्डी मात्र भयो भन्ने गुनासो छ नि ?

 हामीले मतदाता शिक्षा पर्याप्त किसिमले पुर्याउन खोजिएको हो । नपुगेको अवस्था पनि त्यस्तो देखिएको छैन । मतदाता शिक्षा गाउँ गाउघमा संचालन गरिएको थियो । यदि उक्त कार्यक्रममा उनुपस्थित कोही कोही छुटेको हुन सक्छन । तर व्यापक रुपमा छुटेको अवस्था छैन ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ । तर यसलाई पूर्ण रुपले कार्यान्वयन गर्नु भएको छ त ?

हाम्रो गाउँपालिकामा हामीले सर्वदलीय बैठक बसी यस्तायस्ता काम चाहिँ आचारसंहिता भित्र पर्छन र यी यी कामहरु नगर्ने र आचारसंहिताको पुर्ण रुपले पालना गर्ने भन्ने प्रतिबद्धता गरेका छौँ । पछिल्लो समय देखिएको राजनैतिक दलहरुको टिसर्ट, झोला, टोपी, स्टिकर जस्ता समाग्री समेत प्रतिबन्ध गरेका छौँ। । फाटफुट घाँस दाउरा गर्दा प्रयोग भएको भए देखिएन । तर राजनैतिक दलहरुको चुनावि गतिविधी नारा, जुलुस घरदैलो अभियान र आमसभा जस्ता चुनावि गतिविधीमा प्रयोग भएको छैन । आचारसंहिताको पालना पुर्ण रुपले कार्यान्वयन भएको छ ।

यो आचारसंहिता क-कसलाई लागू हुन्छ ?

आचारसंहिता सबैलाई लाग्छ। जनताहरु सबैले आचारसंहिता पालन गर्नुपर्छ? समपुर्ण कर्मचारी, राज्यका संयन्त्रहरु, राजनैतिक दलहरु, पत्रकार सबैले आचारसंहिता पालन गर्नुपर्छ ।

आचार संहिता उल्लघंन भएमा केकस्ता कारवाहि हुन्छ  ?

यदि कुनै पनि राजनैतिक दल कर्मचारी वा उम्मेद्वारले आचारसंहिता उल्लघंन गरेको भनेर हामीलाई लिखित उजुरी आएमा हामी त्यस्को छानबिन गर्छौँ । जसका लागि हाम्रो छुट्टै आचारसंहिता समिति नै छ । यदि उल्लघंन भएको पाइएमा एक दुई पटकसम्म सम्झाउने चेतावनी दिने र आचारसंहिताका बारेमा सचेत गराउने काम गरिन्छ । त्यसले भएन भने रू. २५००० सम्मको जरिवाना गर्ने व्यवस्था कानुनमा छ । यदि जरिवानाले पनि मानेन भने उम्मेदवारी रद्ध समेत गर्न सक्ने व्यवस्था छ । आचारसंहिता उल्लघंन भएको प्रमाणित भएमा निर्वाचित भएको व्यक्तिलाई समेत वर्खास्त गर्न सक्ने व्यवस्था कानुनले गरेको छ ।

माइजोगमाई गाउँपालिकामा कुल मतदाता चाहिँ कति छन्र  ?

 यस गाउँपालिकामा पुरुष ७८५५ र महिला ६९५० गरि जम्मा १४८०५  मतदाता छन् ।

मतदान केन्द्र कतिवटा रहने व्यवस्था गर्नु भएको छ ?

 मतदान केन्द्र २० वटा रहन्छन् ।

बृद्धबृद्धा, अपांग, अशक्तका लागि कस्तो व्यवस्था मिलाउनु भएको छ ?

बृद्धबृद्धा, अपांग, अशक्त, गर्भवती महिलाहरुलाई अवस्था हेरी पुर्ण रुपमा प्राथमिकता दिन्छौँ । भरसक लाइन बस्न सक्नेलाई छुट्टै लापनको व्यवस्था गर्ने र नसक्नेलाई अग्राधिकार दिएर मतदान गर्ने व्यवस्था मिलाउँछौं ।

मतदाता परिचय पत्रमा अन्योलता देखिएको छ नि? के छ यसको व्यवस्था ?

यसमा अन्योल हुनु पर्ने कारण छैन । मतदाता नामावलीमा नाम भएका हरेक मतदातालाई हामी आगामी असार ११, १२ र १३ गते आआफ्नो मतदान स्थलमा मतदाता परिचय पत्र बितरण गर्छौँ ।

अन्त्यमा आम माइजोगमाई गाउँपालिकाका मतदातालाई के भन्न चाहनुहुन्छ ?

आम माइजोगमाई गाउँपालिकाका मतदाता लाई म के भन्न चाहन्छु भने निर्वाचन अपरिहार्य छ, लोकतन्त्रको सुन्दरता भनेकै निर्वाचन हो । २० वर्षपछि भएको छ। निर्वाचन एकदमै महत्वपुर्ण छ । त्यसैले यस महान् कार्यमा सम्पर्ण मतदाताहरु सहभागि भइ स्वच्छ र पबित्र ढङ्गले स्वतन्त्र मत प्रदान गरि आफ्नो मताधिकारको हकको प्रयोग गरि निर्वाचन सफल पारिदिनुहुन अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार