डडेल्धुरा : शनिबार पक्राउ परेका पत्रकारद्वय खेम भण्डारी र गणेश भट्टलाई प्रहरीले रिहा गरेको छ। कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने ‘दैनिक मानसखण्ड’ का प्रकाशक एवं प्रधान सम्पादक भण्डारी र कार्यकारी सम्पादक भट्ट आइतबार साँझ रिहा भएका हुन् ।
पत्रिकामा छापिएका समाचारको विषयमा उजुरी परेको र त्यसैको अनुसन्धानको शिलशिलामा भण्डारी र भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो। पत्रिकाले सार्वजनिक अपमान हुने गरी दुई युवतीका बारेमा समाचार लेखेको र उक्त समाचारले आफूहरूको समाजिक जीवनमा असर परेको भन्दै एक युवतीका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए।
उजुरीमा पत्रिकामा छापिएको समाचारका कारण एक युवतीको बिहेसमेत भाँडिएको आरोप लगाइएको छ। पत्रकारद्वयको रिहाईको माग गर्दै पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना समेत दिएका थिए ।