कांग्रेसका क्षेत्रीय सभापति दलबलसहित फोरम नेपालमा प्रवेश

जनकपुर : नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्यामचन्द्र यादव पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । कांग्रेस पार्टी मधेश विरोधी रहेको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी उनी फोरमको सदस्यता लिएका छन् ।

फोरम नेपालको तराई मधेश प्रदेश समितिको कार्यालय धनुषामा सोमबार आयोजित समारोहमा कांग्रेसक पूर्वक्षेत्रीय सभापति यादवले आफ्ना दलबलसहित फोरम नेपालमा आबद्ध भएका हुन् । नवप्रवेशी यादवालाई फोरम नेपाल तराई मधेश प्रदेश समितिका सचिव शेषनारायण यादवले टीका र फूलमाला लगाई पार्टी प्रवेश गराएका छन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नवप्रवेशी यादवले मधेशको मागप्रति कांग्रेस पार्टी समान्तवादी चरित्रबाट ग्रसित भई उदासीन रहेको कारण मधेशको हकहितका लागि साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरी मधेशको मुद्दामा मेरो विचार र सिद्धान्त फोरम नेपालसंग मिल्ने भएको कारण फोरम नेपालमा प्रवेश गरेको बताए ।

मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला लगायत उत्पीडनमा परेका समुदाय तथा वर्गको हक अधिकार प्राप्तिका लागि संघीय समाजवादी फोरम नेपाल निरन्तर संघर्षमा रहेकोले फोरम नेपालमा प्रवेश गरेको उनको प्रतिक्रिया छ ।

फोरम नेपाल देशमा मधेशी लगायतलाई पहिचान, स्वाभिमान तथा समानुपातिक, समावेशी लगायतका मुद्दामा मेरो विचार र सिद्धान्त मिल्ने भएको हुनाले सो मुद्दालाई सशक्त रुपमा अघि बढाउन र मधेशी लगायतको अधिकार प्राप्ति सहितको संघर्षमा सहयोग गर्न म लगायत मेरा शुभचिन्तक साथी भाईहरु समेत फोरम नेपालमा प्रवेश गरेको बताए ।

सोमवार बिहानै उनले प्रेस विज्ञप्ति जारी गरी कांग्रेस मधेशको जायज मागप्रति उदासीन भई सामन्तवादी चरित्र देखाउंदै आएकोले मधेशको हक अधिकार प्राप्तिका लागि जारी संघर्षलाई सहयोग गर्न पार्टी परित्यागको घोषणा गरेका थिए ।

यादव विद्यार्थी जीवनकालदेखि नै पार्टीको आन्दोलनमा विभिन्न सक्रिय भूमिका निर्वाह गर्दै आएको र काठमाडौं तथा जलेश्वर जेलमा समेत प्रजातन्त्र व्यवस्थाका लागि कारावास जीवन बिताइसकेका छन । २०४७ सालमा प्राप्त प्रजातन्त्र व्यवस्थादेखि संगठनमा धनुषा क्षेत्र नं. ४ को दुई÷दुई पटक सचिव र सभापति पदको जिम्मेवारी बहन गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार