इलाममा नमुना मतदान कार्यक्रम

सुजता सुनुवार

इलाम : असार १४ गते हुन लागेको दोस्रो चरणको चुनावलाई लक्षित गरी इलाममा नमुना मतदान कार्यक्रम भएको छ ।मत बदर नहोस् भन्ने उद्देश्यका साथ जिल्लाका तीन स्थानमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको जिल्ला निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख प्रेमकुमार काफ्लेका अनुसार जिल्लाका इलाम नगरपालिकाका बरबोटे र गोलाखर्क भञ्ज्याङ्ग र देउमाई नगरपालिका स्थित मंगलबारेमा नमुना मतदान गरीसकिएको छ ।

नमुना मतदान कार्यक्रममा निर्वाचन कार्यालयले स्थानीय मतदाताहरुसँग बसेर भोट कसरी हाल्ने, भोट हालेपछि मतपत्र कसरी पट्याउने लगायतका बिषयमा जानकारी गराएको थियो ।

चार नगरपालिका र छ गाउँपालिका रहेको  जिल्लामा एक लाख ८९ हजार दुर्इ सय ७४ मतदाता रहेका छन् । जिल्लाका ८१ वडामा एक सय ४४ मतदान स्थल र दुर्इ सय ४९ मतदान केन्द्र छन् । अहिले जिल्लाभर एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी खटाइएको छ ।

आगामी बिहिबार इलाम चोक बजारमा नमुना मतदान कार्यक्रमको आयोजना गरीने जिल्ला निर्वाचन कार्यलय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार