देउवा बने ४० औं प्रधानमन्त्री

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौ प्रधानमन्त्री हुन् ।

माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

प्रधानमन्त्री पदका लागि देउवाकोमात्रै उम्मेदवारी परेको थियो । देउवाको पक्षमा  ३८८ मत पर्‍यो भने विपक्षमा १७० मत परेको थियो । एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, परिवार दललगायतको विपक्षी गठबन्धन उम्मेदवारीविरुद्ध उभिएको थियो ।

देउवा समकालिन नेताहरुमा सबैभन्दा बढी चौथोपटक प्रधानमन्त्री बन्ने रेकर्ड समेत बनाएका छन् । देउवा पहिलोपटक ०५२ सालमा प्रधानमन्त्री बनेका थिए ।  ४९ वर्षमा नै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा यतिबेला भने ७१ बर्ष पार गरिसकेका छन् । दोस्रोपटक उनी ०५८ साल साउन ११ र तेस्रोपटक ०६१ जेठ २१ मा प्रधानमन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार