चुलाचुली : ‘चुलाचुली गाउँपालिका विकासको सम्भावना र एजेन्डा’ विषयमा राजनीतिक पार्टीका उमम्मेद्वारहरूसँगको एजेन्डा प्रस्तुती कार्यक्रम इलामको चुलाचुलीमा आइतबार सम्पन भएको छ ।
राजनीतिक दलहरूको मतभेदको दुरी घटाउन सवै पार्टीको उम्मेद्वारहरूलाई एउटै मञ्चमा राखेर स्थानीय एजेन्डा प्रस्तुत गर्ने लगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका मुख्य पार्टीका उमम्मेद्वारहरूले आआप्नो एजेन्डा प्रस्तुत गरेका थिए ।
‘समृद्धि समाजको लागि निष्पक्ष र स्वतन्त्र संचारको भूमिका नाराका साथ सञ्चार मञ्च चुलाचुली इलामले कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष उम्मेद्वार प्रदिपचन्द्र राईले विकासका पूर्वधारमा सडक, पर्यटन, शिक्षा क्षेत्रको विकासलाई आफ्नो एजेन्डामा प्राथमिकता प्रस्तुत गरेका थिए । कांग्रेसका अध्यक्ष उम्मेद्वार राजेन्द्र केरूङले प्राविधिक शिक्षा, स्वास्थ्य, खानेपानी, नहर र युवा स्वरोजगारलाई एजेन्डामा राखेका थिए । संघीय समाजवादी फोरमका अध्यक्ष उम्मेद्वार भूपेन्द्र योङयाले भौतिक विकासलाई भन्दा मानवीय न्याय, अधिकार, पहिचान जस्ता मुद्दालाई एजेन्डा प्रस्तुत गरेका थिए ।
त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका उपाध्यक्ष उम्मेद्वार संगिता थलङले लिम्बुवान पार्टीको एजेन्डा लिम्बूहरूको मात्र नरहेर ९ जिल्लामा रहेका एक सय २० जातिका संयुक्त पहिचानी एजेन्डा रहेको वताईन् । उनले महिलाहरूलाई आफ्नो एजेन्डामा पहिलो प्राथमिकतामा अघि सारेकी छिन् ।
चुलाचुली गाउँपालिकालाई जिल्लामै नमुना र समृद्धि वनाउने साझा र सिर्जनशिल एजेन्डा हुनुपर्छ भन्ने कुरामा बुद्धिजीवी तथा साहित्यकार विवस बलिभद्र कोईराला, यवा बुद्धिजीवी सुवास आङथुपोले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
संघीय समाजवादी फोरम नेपाल वडा नम्बर २ र ३ वडा अध्यक्ष उम्मेद्वार मनकुमार थुलुङ, लिला लावती, वडा नम्बर ३ र ४ एमालेबाट जनक कोइराला, कालीप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
सञ्चार मञ्चका अध्यक्ष चेतन आङथुपोको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष प्रदिप लावतीले स्वागत गरेका थिए भने सचिव छत्र चाम्लिङ राईले संचालन गरेका थिए ।