खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र नयाँशक्ति पार्टी नेपालबाट बच्चु राईलाई उम्मेदवार बनाइएको छ । उपप्रमुखमा भने मनुकुमारी राईलाई उम्मेदवार बनाइएको छ ।
संघीय समाजवादी फोरम हलेसी तुवाचुङ नगर समितिका अध्यक्ष राजन राईले उम्मेदवार टुंगो लगाएसँगै चुनावी अभियान अनुरुप घरदैलो कार्यक्रम सुरु गरिएको बताए ।
दुर्इ दलबाट संयुक्त उम्मेदवार बनेका बच्चु राई हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ५ का स्थानीय हुन् ।
२०३४ सालदेखि नै कम्युनिष्ट राजनीति सुरु गरेका उनी संघीय समाजवादी फोरमका नेता हुन् ।
कूल ११ वटा वडा भएको यस नगरपालिका ५ वटा वडामा वडा अध्यक्षको उम्मेदवार पनि टुंगो लगाइएको छ । वडा नम्बर ५ मा मबिन्द्र राई, ७ मा सुर्य राई, ८ मा राजेश राई, १० गन्दमान राई र २ माकुमार राईलाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । वडा नम्बर १ माभने बलबहादुर र्राईलाई उम्मेवार बनाउने तयारी छ ।
‘बलबहादुरजीले मभन्दा राम्रो उम्मेदवार आउनुभयो भने उहाँलाई सहयोग गर्छु भन्नुभएको छ,’ नगर समितिका अध्यक्ष राजन राईले भने, ‘बाँकी रहेको वडाका उम्मेदवार जेठ २५ गतेभित्र टुंगो लगाउन जिल्ला समितिले निर्देशन दिएको छ ।’
स्थानीयतहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको टुंगो लगाउने जिम्मा सम्बन्धित गाउँपालिका वा नगरपालिका समितिलाई दिने नीति आफ्नो पार्टीको रहेको उनले बताए ।
गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भने जिल्ला समितिले गर्ने र उपमहानगर र महानगरपालिकाको उम्मेदवार प्रदेश समितिले तयगर्ने संघीय समाजवादी फोरमको नीति छ ।