
सुजता सुनुवार
इलाम : नेपालको सबै भन्दा अग्लो सगरमाथाको सफल आरोहणपछि यामबहादुर गुरुङ सम्मानित भएका छन् । इलाम नगरपालिका १ का गुरुङलाई सगरमाथा चढ्ने जिल्ला कै पहिलो गोर्खाली बेलायती सेनाको रुपमा सम्मान गरिएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले उनलाई सम्मान गरेको छ । सदरमुकाममा कार्यक्रम गरि उनी लगायत स-घरपरिवारलाई सम्मान गरिएको हो । सम्मान गर्दै कांग्रेसका जिल्ला कार्यसमितिका सभापति हिमालय कर्मचार्यले गुरुङ्गले बेलायतमा नै नेपाल र नेपालीको शीर उच्च बनाई वीर गोर्खालीको नाम राखेको भन्दै प्रसंशा गरे।
सगरमाथा आरोही ४० वर्षीया गुरुङले आफूले हिमाल आरोहणमा सफलता पाएको नै सम्पूर्ण नेपालीको जीत हो भन्दै इलामका पर्यटकिय क्षेत्रको विकासमा जोड दिने बताए ।’इलाम पर्यटकिय क्षेत्रको मुटु हो । सो क्षेत्रको विकासमा आफूले जस्तोसुकै सहयोग गर्नु परे पनि तयार छु’ आरोही गुरुङ्गले भने ।
गुरुङले गएको मे १६ तारिखमा सगरमाथा आरोहण गरेका थिए । सर्वोच्च शिखरको चुचुरोमा पुग्न ८ घण्टा लागेको गुरुङले बताए । उनले विहानको ६ बजेर ४५ मिनेटमा चुचुरोमा पाइला टेकेका थिए ।






















































